अर्थतन्त्रमा झिनो सुधार, जोखिम कायमै

२०७९ भाद्र ३१, शुक्रबार १०:४० बजे

काठमाडौं : मुलुकको अर्थतन्त्रमा झिनो सुधार देखिए पनि जोखिमको अन्त्य भएको छैन। आयातमा केही नियन्त्रण देखिएको छ। रेमिट्यान्समा सुधार भए पनि विदेश अध्ययन गर्न जानेका कारण विदेशी विनिमय सञ्चिति घटेको छ। यद्यपि मुलुकका लागि वस्तु तथा सेवा धान्ने अवधि भने केही बढेको छ। शोधनान्तर स्थिति घाटामा रहेको नेपाल राष्ट्र बैंकले औंल्याएको छ। २०७८-०७९ को वार्षिक तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले मुलुकको अर्थतन्त्रको सूचकको यस्तो विश्लेषण गरेको हो।

राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ अर्थतन्त्रमा केही सुधार देखिए पनि जोखिम कायमै रहेको बताउँछन्। उनका अनुसार विदेशी विनिमय सञ्चिति घटेको छ। तर आयात कम हुँदै गएकाले वस्तु तथा सेवाको आयात धान्न सक्ने क्षमताको अवधि बढेकाले सुधार देखिएको छ। ‘आयातको आकार केही नियन्त्रित भएकाले वस्तु तथा सेवा धान्न सक्ने क्षमता बढेको हो। अहिले आयात गर्न कर्जा पनि पाइएको छैन। साथै यसमा ब्याज पनि बढ्यो जस्ले गर्दा कम आयात हुन गएको छ।

२०७९-०८० को पहिलो महिनाको तथ्यांकले पनि आयात नियन्त्रित हँुदा कुल वस्तु व्यापार घाटा १०.४ प्रतिशतले कमी आएको देखाएको छ। यसरी कमी आउदा साउनमा १ खर्ब १६ अर्ब ४८ करोड रुपैयाँ व्यापार घाटा भएको छ। गत आवको सोही अवधिमा यस्तो घाटा ७०.६ प्रतिशतले बढेको थियो। यसअनुसार साउनमा कुल वस्तु आयात गत आवको तुलनामा १२.९ प्रतिशतले कमी आएको देखाएको छ। सो दरले आयात घटेर साउनमा १ खर्ब ३१ अर्ब २९ करोड पुगेको छ। जबकि गत आवको सोही अवधिमा यस्तो आयात ७५.७ प्रतिशतले बढेको थियो।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १२.१ प्रतिशत, १०.५ प्रतिशत र १५.९ प्रतिशतले कमी आएको छ। वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, स्पन्ज आइरन, औषधि, रासायनिक मल, कच्चा पाम तेललगायतका वस्तुको आयात बढेको छ भने सवारीसाधन तथा स्पेयर पार्टपुर्जा, एमएस विलेट, दूरसञ्चार उपकरण तथा पार्टस्, कच्चा सोयाबिन तेल, हट रोल्ड सिट इन क्वाइललगायतका वस्तुको आयात घटेको केन्द्रीय बैंकले बताएको छ। यस्तै साउनमा कुल वस्तु निर्यात २८.७ प्रतिशतले कमी आई १४ अर्ब ८१ करोड पुगेको छ। आयात नियन्त्रित हँुदा पछिल्लो समय मूल्यवृद्धिमा दबाब परेको राष्ट्र बैंकका कार्यकारी निर्देशक श्रेष्ठ स्विकार गर्छन्। ‘पेट्रोलियम पदार्थको मूल्य उच्च भयो। आयातमा केही कमी भयो। यस्ता कारणले मूल्यमा चाप पर्न गएको हो,’ उनले भने।

अकासियो महँगी

हरेक वस्तु तथा सेवाको मूल्य अकासिँदा आम सर्वसाधारण मर्कामा परेका छन्। विशेष गरेर घिउ, तेल, फलफूल, माछामासु, गेडागुडीलगायतका खाद्यको मूल्य अकासिँदा महँगी बढेको राष्ट्र बैंकले बताएको छ। केन्द्रीय बैंकको २०७९÷०८० को तथ्यांकले पनि चालू आवको पहिलो महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.२६ प्रतिशत रहेको उल्लेख गरेको छ। जबकि अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.३५ प्रतिशत रहेको थियो। सरकारले चालू आवको बजेटमार्फत र राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत मुद्रास्फीति ७ प्रतिशतको सीमाभित्र कायम गर्ने भनिए पनि पहिलो महिना नै सीमा नाघेको छ।

तथ्यांकअनुसार अहिले खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ७.११ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.१८ प्रतिशत रहेको छ। २०७८ साउन महिनाको तुलनामा २०७९ साउन महिनामा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत घिउ तथा तेल, फलफूल, रेस्टुरेन्ट तथा होटल, मदिराजन्य पेयपदार्थ र दुग्ध पदार्थ तथा अन्डा उपसमूहको मूल्यवृद्धि क्रमशः १९.५८ प्रतिशत, १८.७९ प्रतिशत, ११.८४ प्रतिशत, १०.२४ प्रतिशत र १०.१९ प्रतिशत रहेको छ।

यसका साथै, गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात, स्वास्थ्य, फर्निसिङ तथा घरायसी उपकरणहरू, शिक्षा र घरायसी उपयोगका वस्तुहरू उपसमूहको मुद्रास्फीति क्रमशः २३.८८ प्रतिशत, १०.५४ प्रतिशत, ९.०४ प्रतिशत, ८.११ प्रतिशत र ७.८६ प्रतिशत रहेको छ।

विप्रेषणमा सुधार

वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँग विप्रेषण (रेमिट्यान्स) पनि बढ्न थालेको छ। गत आर्थिक वर्षको पहिलो महिनाको तुलनामा चालू आर्थिक वर्षको साउनसम्ममा विप्रेषण आप्रवाह २०.३ प्रतिशतले वृद्धि भएको छ। सो दरले विप्रेषण बढ्दा चालू आर्थिक वर्षको पहिलो महिनामा ९२ अर्ब २१ करोड भित्रिएको छ। वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार विप्रेषणमा यस्तो सुधार भएको उल्लेख गरेको हो। जबकि अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.४ प्रतिशतले घटेको थियो। गत साउनसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २२२.८ प्रतिशतले वृद्धि भइ ४४ हजार ५ सय ४० पुगेको छ।

चालू खाता अर्बौं घाटामा

लामो समयदेखि चालू खाता तथा शोधनान्तर स्थिति अर्बौं रुपैयाँले घाटामा छ। चालू आवको साउनमा चालू खाता १६ अर्ब २६ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ४७ अर्ब २९ करोडले घाटामा रहेको थियो। यस अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४० करोडले ऋणात्मक रहेको राष्ट्र बैंकले बताएको छ। देश भित्रिने विदेशी मुद्राको मुख्य स्रोत रेमिट्यान्स मात्रै भएको तथा आयात र विदेश अध्ययनमै मुद्रा बाहिरी रहेकाले शोधनान्तर स्थिति घाटामा गएको छ। यसर्थ साउनसम्ममा शोधनान्तर स्थिति २२ अर्ब ६३ करोडले घाटामा छ। यद्यपि गत आव ३८ अर्ब ७५ करोडले घाटामा थियो।

विदेशी विनिमय सञ्चितिमा कमी

केन्द्रीय बैंकका अनुसार साउनमा विनिमय सञ्चिति ११ खर्ब ९७ अर्ब ८५ करोड कायम भएको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकामा २०७९ साउन मसान्तमा १.२ प्रतिशतले कमी आई ९ अर्ब ४२ करोड कायम भएको छ। सञ्चिति घटे पनि बस्तु तथा सेवा धान्ने सञ्चिति पर्याप्तता भने बढेको छ। चालू आवको पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.४ महिनाको वस्तु आयात र ८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।

विदेश भ्रमण र अध्ययनबाट अर्बौं रकम बाहिरियो

नेपालमा विदेशीको भ्रमणमा केही सुधार देखिए पनि नेपालीहरू विदेश घुम्न जाँदा र पढ्न जाँदा गरेको खर्चले सेवा घाटामा छ। साउनमा खुद सेवा आय ११ अर्ब ६ करोडले घाटामा रहेको छ। सेवा खाताअन्तर्गत भ्रमण आय ५६.० प्रतिशतले वृद्धि भई २ अर्ब ६० करोड पुगेको छ। तर सेवा खाताअन्तर्गत भ्रमण व्यय ८३.८ प्रतिशतले वृद्धि भई १० अर्ब ५ करोड पुगेको छ। यसमध्ये शिक्षातर्पmको व्यय ७ अर्ब १३ करोड छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार