असोज महिनाका लागि बैंकहरुले बढाए १ अर्ब रुपैयाँ खर्च

२०७९ भाद्र ३१, शुक्रबार १३:१२ बजे

काठमाडौं : बैंकहरुले असोज महिनाको लागि १ अर्ब रुपैयाँभन्दा बढी खर्च बढाएका छन् । वाणिज्य बैंकहरुको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको संस्था नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले गरेको निर्णयका कारण बैंकहरुको असोज महिनाको खर्च १ अर्ब रुपैयाँ बृद्धि हुने देखिएको हो ।

भदौ ३० गते बसेको एनबीए बैठकले व्याजदर खुल्ला छोड्ने निर्णय गरेको छ । विगत ६ महिनादेखि एनबीएले ‘भद्र सहमति’ कायम गरेर व्याजदर बृद्धि रोकेको थियो । व्याजदर खुल्ला गर्ने एनबीए निर्णयको भोलिपल्ट (भदौ ३१ गते) अधिकांश बैंकहरुले असोज महिनाको लागि नयाँ व्याजदर सार्वजनिक गरेका छन् । नयाँ व्याजदर पहिलाको भन्दा करिब १ प्रतिशतले बढेको छ ।

वाणिज्य बैंकहरुले विगत ६ महिनादेखि मुद्दती निक्षेपमा ११.०३ प्रतिशत व्याजदर कायम गरेका थिए । रेमिट्यान्स मुद्दती खातामा १ प्रतिशत थप व्याज दिन पाउने राष्ट्र बैंकको नीतिगत व्यवस्थाको कारण यस्तो खाताको व्याजदर १२.०३ प्रतिशत थियो ।

यस्तै, राष्ट्र बैंकको नियम अनुसार व्याजदर परिवर्तन गर्दा बैंक तथा वित्तीय संस्थाहरुले अघिल्लो महिनाको प्रकाशित व्याजदरमा १० प्रतिशतले मात्रै परिवर्तन (बढाउन वा घटाउन) गर्न पाउँछन् । सोही व्यवस्थाको कारण बैंकहरुले १ प्रतिशतले व्याजदर बढाएर मुद्दती खाताको १२.१३ प्रतिशत पु¥याएका छन् भने रेमिट्यान्स मुद्दती खाताको व्याजदर १३ प्रतिशतभन्दा माथि पुगेको छ ।

यसरी व्याजदर बढाउँदा असोज महिनामा मात्रै बैंकहरुको खर्च १ अर्ब रुपैयाँभन्दा बढी हुने तथ्यांकले देखाएको छ । अहिले बैंकहरुमा बचत खातामा १३ खर्ब ४० अर्ब रुपैयाँ छ । यो रकमको १ प्रतिशतले व्याज बढ्दा १३ अर्ब ४० करोड रुपैयाँ व्याज थपिन्छ । यस्तो व्याज रकम एक महिनाको मात्रै हिसाव गर्दा पनि १ अर्ब ११ करोड रुपैयाँको हाराहारीमा हुन्छ ।

यस्तै, अहिले बैंकहरुसँग ३ खर्ब ३२ अर्ब रुपैयाँ कल डिपोजिट रकम छ । यस्तो रकमको पनि ०.५ प्रतिशतले व्याज बढ्दा १ अर्ब ६६ करोड रुपैयाँ व्याज बढ्छ । यो व्याज पनि एक महिनाको हिसाव गर्दा असोज महिनामा मात्रै १० करोड रुपैयाँ जति खर्च बढ्ने देखिन्छ ।

बैंकहरुले बचत र कल डिपोजिट खातामा रहेको रकममा नयाँ व्याजदर प्रकाशित हुने वित्तिकै नयाँ दर नै लागू गर्नुपर्छ । तर, मुद्दती निक्षेपको रकममा भने रकम जम्मा भएको समयमा तोकिएको व्याजदर नै लागू हुन्छ । यसैकारण बैंकहरुमा बचत र कल डिपोजिटमा भएको रकमको खर्च बढ्ने हुन्छ भने मुद्दती खाताको लागि नयाँ रकमको मात्रै व्याजदर बढी दिनुपर्ने हुन्छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार