नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने प्रधानमन्त्री देउवाको घोषणा

२०७९ भाद्र ३१, शुक्रबार १३:५७ बजे

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने बताएका छन्। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा औपचारिक कार्यक्रम आयोजना गरी नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन्। प्रधानमन्त्री देउवाले युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपालमा खेलकुद विश्वविद्यालय खोल्नुपर्ने प्रस्ताव गरेको उल्लेख गर्दै आफूले पनि खेलकुद विश्वविद्यालय खोल्न शुरूआत गर्ने योजना बनाएको बताए।

उनले कोरोनाका कारण नेपालको आर्थिक अवस्था राम्रो नभए पनि खेलकुद विश्वविद्यालय खोल्ने सरकारले सोच बनाएको बताए। प्रधानमन्त्री देउवाले खेलकुद विश्वविद्यालयले आगामी दिनमा युवाको खेलप्रति आकर्षण बढ्ने विश्वास लिएको बताए। ‘हाम्रो मन्त्रीज्यूले मलाई खेलकुद युनिभर्सिटी खोल्नुपर्छ भन्नुभएको छ। हामी छिट्टै खेलकुद विश्वविद्यालय खोल्ने तयारीमा लाग्नेछौं’, उनले भने, ‘अहिले कोभिड लगायतका धेरै कारणले राष्ट्रको आर्थिक अवस्था राम्रो छैन। तर पनि सुरूआत गर्ने हाम्रो सोचाइ छ। सुरूआत गर्नेछौं।’

सरकारले पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रनिङ ट्रफीको निर्माण गरेको हो। करिब १० लाख रूपैयाँ लागतमा राष्ट्रिय खेलकुदको विजेता टिमका लागि ट्रफी बनाइएको हो। लगातार तीन संस्करणको प्रतियोगिता जित्ने टिमले स्थायी रूपमा विजेता ट्रफी आफूसँग राख्न पाउनेछ। नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफीलाई प्रदर्शनीका लागि सातै प्रदेश र तीन विभागीय टोलीमा पुर्‍याईनेछ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले ओलम्पियन एवं दक्षिण एशियाली खेलकुदका कीर्तिमानधारी दीपक बिष्टको संयोजकत्वमा ५ सदस्सीय ट्रफी टूर कार्यदल गठन गरेको छ। कार्यदलमा क्रिकेटका पूर्व कप्तान पारस खड्का, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष एवं साग पदकधारी दीपक श्रेष्ठ, महिला भलिबल कप्तान अरूणा शाही र अल्ट्रा म्याराथन धाविका मिरा राई सदस्य छन्।

ट्रफी टुर तालिका

आज बेलुकादेखि सुरू हुने ट्रफी टुर आगामी असोज २३ गतेसम्म चल्नेछ। २३ गते गण्डकी प्रदेशको पोखरा विमानस्थलबाट बाजागाजा र झाँकीसहित ट्रफी पोखरा रंगशाला पुर्‍याइनेछ।

असोज १ गते बिहान ८ बजे-धनगढी रंगशाला
असोज २ गते दिउँसो ३ बजे- लुम्बिनी प्रदेशको एन्फा टेक्निकल सेन्टर
असोज ३ गते बिहान ८ बजे- बागमती प्रदेश हेटौंडास्थित मानसचोक।
असोज ७ गते बिहान १० बजे- नेपाली सेनाको मुख्यालय जंगी अड्डा
असोज ८ गते- प्रदेश १ को विराटनगर रंगशाला
असोज ९ गते- नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालय नक्साल
असोज ९ गते-सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोक
असोज ११ गते- कर्णाली प्रदेशको सुर्खेत रंगशालास्थित सेमी कभर्डहल
असोज १३ गते- मधेस प्रदेशको रामजानकी मन्दिर परिसर
असोज २३ गते- गण्डकी प्रदेशको पोखरा रंगशाला

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार