भैरहवा बाट दैनिक कुवेत उडान, कात्तिकदेखि अबुधावीमा पनि उडान संचालन गर्ने

२०७९ भाद्र ३१, शुक्रबार १५:११ बजे

भैरहवा : भैरहवा बाट कुवेतका लागि साताको तीन उडान गर्दै आएको जजिरा एयरलाइन्सले शुक्रबारदेखि भने दैनिक सेवा थालेको छ । जेठ २ गते गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै जजिरा एयरलाइन्सले सातामा तीन उडान गर्दै आएको थियो । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक तथा प्रवक्ता सुभाष झाले शुक्रबारदेखि जजिरा एयरलाइन्सले कुवेत–भैरहवा रुटमा दैनिक एउटा उडान सञ्चालन गरेको बताए ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार हालसम्म जजिरा एयरलाइन्सले कुवेत–भैरहवाबीच १ सय १० वटा उडान सञ्चालन गरेको छ । जसमा कुवेतबाट भैरहवा विमानस्थलमा कुल ६ हजार ५ सय ८७ जना यात्रु ओर्लेका छन् भने भैरहवाबाट कुवेतका लागि कुल ७ हजार २ सय ४० जना यात्रु प्रस्थान गरेका छन् । हवाई यात्रुको चाप बढ्न थालेपछि जजिरा एयरलाइन्सले नियमित रुपमा दैनिक उडान संचालन थालेको हो । जजिरा एयरलाइन्सका नेपालस्थित कमर्सियल व्यवस्थापक अमित नागरथले कुवेत–भैरहवा रुटको उडान व्यावसायिक रुपमा पनि सफल भएको बताए ।

यसैबीच आउँदो अक्टोबर ३० (कात्तिक १३) देखि विज एयरले पनि भैरहवाबाट यूएईको अबुधावीमा हवाई उडान संचालन गर्ने भएको छ । हंगेरीको यो वायुसेवा कम्पनीले तत्कालका लागि हप्तामा तीन वटा हवाई उडान सञ्चालन गर्नेगरी टिकट काट्ने अनुमति पाइसकेको निर्देशक झाले बताए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार