चिनियाँ प्रतिनिधिलाई रानी एलिजाबेथको शव दर्शन गर्नबाट रोकियो

२०७९ आश्विन १, शनिबार १२:४२ बजे

बेलायत : ब्रिटिस संसदको तल्लो सदनका सभामुखले चिनियाँ प्रतिनिधिलाई दिवंगत रानीको दर्शन गर्नबाट रोकेका छन् । सेप्टेम्बर ८ मा बितेकी एलिजाबेथ द्वितियको शव अहिले दर्शनका लागि ब्रिटिस संसदभित्रको वेस्टमिनिस्टर हलमा राखिएको छ ।

चिनियाँ प्रतिनिधिलाई रोकिएको भएपनि अन्त्येष्टिमा सहभागी हुन आउँदै गरेका चीनका उप–राष्ट्रपतिलाई भने नरोकिने जानकारी गराइएको छ । चीनले बेलायतका सात सांसदलाई झुट र गलत सूचना फैलाएको भनेर प्रतिबन्ध लगाएको विरोध चिनियाँ प्रतिनिधिलाई संसद भवनमा प्रवेश गर्न नदिइएको सभामुख कार्यालयले बताएको छ ।

रानीको कफिन राखिएको वेस्ट मिनिस्टर हल तल्लो सदनका सभामुख लिण्ड्से होइलको जिम्मेवारीमा रहेकाले उनले स्वतन्त्र रुपमा यो निर्णय गरेको सभामुख कार्यालयले जानकारी दिएको छ । सभामुख कार्यालयले सुरुमा चिनियाँ प्रतिनिधिलाई रोक लगाउनुको कारण बताउन अस्वीकार गर्दै सुरक्षा मुद्दा मात्र भनेर पन्छिएको थियो ।

एक वर्षअघि पनि बेलायतका लागि चिनियाँ राजदूत झेङ जेगुयाङलाई पनि संसद भवन अर्थात प्यालेस अफ बेस्ट मिनिस्टर प्रवेश गर्न दिइएको थिएन । सन् २०२१ मार्चमा संयुक्त अधिराज्यले सिन्जियान क्षेत्रमा मानव अधिकार उल्लघंन भएको भन्दै चार चिनियाँ अधिकारीलाई प्रतिबन्ध लगाएको थियो । जवाफमा चीनले पनि सात सांसद र केही प्राज्ञमाथि प्रतिबन्ध लगायो ।

त्यही घटनासँग जोडेर बेलायतले अघिल्लो वर्ष चिनियाँ राजदूत र अहिले चिनियाँ प्रतिनिधिलाई संसद प्रवेश रोकेको हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार