अछामका बाढीपीडितको सहयोग र उद्धारका लागि कांग्रेस नेतृ देउवाको अपिल

२०७९ आश्विन २, आईतवार ०६:५२ बजे

काठमाडौं : नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले शुक्रबारदेखिको अविरल वर्षाका कारण सुदूरपश्चिमका विभिन्न स्थानमा आएको पहिरो र बाढीका पीडितलाई सहयोगका लागि नेपाल सरकार र सम्बद्ध सबै निकायसँग आग्रह गरेकी छिन् ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. देउवाले शनिबार विज्ञप्ति जारी गर्दै सुदूरपश्चिमको अछाममा पहिरोका कारण ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गरिन्

साथै उनले पहिरोमा परेर घाइते भएकाको तत्काल निःशुल्क उपचारको व्यवस्थाका लागि पनि नेपाल सरकार र सम्बन्धित निकायसँग माग गरेकी छिन् । पहिरोमा ज्यान गुमाउनेका आश्रित परिवारलाई आवश्यक सहयोग र उद्धारका लागि उनले आग्रह गरिन् ।

त्यसैगरी डा. देउवाले कञ्चनपुरमा बाढीका कारण तीन सयभन्दा बढी घर डुबानमा पर्नुका साथै ठूलो जनधनको क्षति भएकाले सो क्षेत्रमा तत्काल उद्धार र राहतका कार्यक्रमका लागि पीडितलाई सहयोग गर्न पनि अनुरोध गरिन् ।

वर्षायाममा हरेक वर्ष नेपालका विभिन्न भू–भागमा बाढी र पहिरोले ठूलो मात्रामा मानवीय र भौतिक क्षति हुने गरेकाले यस समस्याको दीर्घकालीन समाधानका उपायहरूको पहिचान गरेर त्यसको कार्यान्वयन गर्न उनले सरकारसँग अनुरोध गरेकी छिन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार