मतदान केन्द्रमा उम्मेदवारका प्रतिनिधिमात्र बस्न पाउने

२०७९ मंसिर २, शुक्रबार १०:५८ बजे

काठमाडौं : निर्वाचन आयोगले आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान केन्द्रमा प्रतिनिधि राख्दा उम्मेदवारको मात्रै प्रतिनिधि राख्ने निर्णय गरेको छ ।

यस अघिका निर्वाचनमा क्रियाशिल राजनीतिक दलका प्रतिनिधिहरुलाई मतदान केन्द्रमा राख्ने गरिएको थियो । प्रत्येक दलका प्रतिनिधि राख्दा मतदान केन्द्रमा भिडभाड हुने भएपछि यो पटक भने उम्मेदवारका प्रतिनिधि मात्रै राख्ने व्यवस्था गरेको हो ।

निर्वाचन आयोगको कात्तिक २९ गते सम्पन्न बैठकबाट प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन संसोधन सहित स्वीकृत निर्देशिका पारित गरेको थियो ।

निर्देशिका अनुसार प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्यको लागि पहिलो हुने निर्वाचण प्रणाली बमोजिम उम्मेदवारको तर्फबाट मात्रै सम्बन्धित उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधिले मतदान प्रतिनिधि नियुक्त गरी राख्न सक्ने व्यवस्था गरिएको छ ।

निर्वाचन आयोगले सबै जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा संसोधन गरेर पठाइएको निर्देशिका पठाइएको छ । सोही निर्देशिका अनुसार मात्रै मतदान केन्द्रमा प्रतिनिधि राख्न मतदान अधिकृतहरुलाई निर्देशन समेत दिइसकेको निर्वाचन आयोगले जानकारी दिए ।

यो व्यवस्था अनुसार मतदान केन्द्रमा सम्बन्धित प्रदेश र संघमा उम्मेदवार नभएको राजनीतिक दलका प्रतिनिधिहरु बस्न पाउदैनन् । सम्बन्धित उम्मेदवार वा निजको प्रतिनिधिको आधिकारिक हस्ताक्षर भएको पत्र पेश गरेपछि मात्रै मतदान केन्द्रमा प्रतिनिधि बस्न पाउने छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार