दोहाको टिकट काटेका यात्रुलाइ जब सुन्धारा पुर्याइदियो

२०७९ मंसिर २, शुक्रबार १४:०३ बजे

काठमाडौं : नेपाल एयरलाइन्सको जहाजबाट गएराति कतारको दोहा जान लागेका यात्रुहरुलाई जहाजका सबै सिट भरिएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ ।

गएराति ११ बजेको उडानका लागि टिकट काटेर एयरपोर्ट पुगिसकेका यात्रुहरुलाई जहाज प्याक भइसकेको भन्दै फर्काइएपछि आक्रोशित यात्रुहरु विरोध जनाउन नागरिक उड्डयन प्राधिकरणको कार्यालय पुगेका छन् ।

एकजना यात्रु लक्ष्मीप्रसाद दाहालले भने, ‘टिकट हाम्रो हातमा छ तर जहाजका सबै सिट प्याक भयो, अब तपाईंहरुको फ्लाइट पर्सि हुन्छ भनेर हामीलाई फर्काइयो ।’ आफूसहित करिब ६० जना यात्रुहरुलाई फर्काइएको दाहाल बताउँछन् । उनीहरुलाई एयरलाइन्सले सुन्धाराका होटलहरुमा लगेर राखेको छ ।

उनका अनुसार गएराति ११ बजेको उडानका लागि राति ८ बजे नै एयरपोर्ट पुग्दा नेपाल एयरलाइन्सको काउन्टर क्लोज भइसकेको थियो । त्यहाँका कर्मचारीहरुले सिट फूल भइसकेको भन्दै यात्रुहरुलाई होटलमा लगेको दाहालले बताए । नेपाल एयरलाइन्सले लापरवाही गरेर यात्रुहरुलाई अलपत्र पारेको भन्दै उनले विरोध जनाए ।

लापरवाही गर्नेहरुलाई कारबाहीको माग गर्दै यात्रुहरु सुन्धाराको होटलबाट नागरिक उड्डयन प्राधिकरणको कार्यालय बबरमहलमा पुगेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार