सडक निर्माण तत्काल सुरु गर्न नगरपालिकालाई स्थानीयको दबाब

२०७९ मंसिर २, शुक्रबार १८:३६ बजे

खोटाङ : खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१ दिक्तेल हाटडाँडाका स्थानीयले दिक्तेल–आहाले सडक कालोपत्रेको काम तत्काल सुरु नगराए नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमा थुनिदिने भन्दै विरोध जनाएका छन् ।

ज्ञापनपत्र जारी गर्दै स्थानीयहरूले कालोपत्रेको काम तत्काल सुरु नभए दिक्तेलबारमा सवारी आवागमन बन्द गर्ने, हड्ताल गर्नेदेखि नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमै थुन्नेसम्मको आन्दोलन गर्ने उल्लेख गरेका छन् ।

गत भदौ १९ गते पनि स्थानीय हाटडाँडा टोल पूर्वाधार विकास तथा व्यवस्थापन प्रवर्द्धन समितिको अगुवाइमा नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र वडा कार्यालयलाई ज्ञापन पत्र बुझाउँदै सडक कालोपत्रेको अवरुद्ध काम तत्काल सुरु गर्न/गराउन माग गरेका थिए ।

आफ्ना मागको सुनवाइ नभएको भन्दै दीपेन्द्र बस्नेत, विनोद खड्का, लीला श्रेष्ठ, नवीन श्रेष्ठ लगायत स्थानीयले मङ्सिर १ गते नगरप्रमुख तीर्थराज भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै सडक कालोपत्रेको काम यथासीघ्र सुरु नगराए हड्तालमा उत्रने समेत चेतावनी दिएका छन् ।

सडक नबन्दा कालिका मन्दिर र महादेवगुफा जाने आउने दर्शनार्थीलाई समेत असहज भएको ज्ञापनपत्रमा उल्लेख छ । पटकपटक म्याद थप गर्दा पनि निर्माण कम्पनी याक्थुङहाङ/साप/सिरुवा जेभीले कालोपत्रेको काम अलपत्र पारेको भन्दै स्थानीयले विरोध जनाउँदै आएका छन् ।

निर्माण कम्पनीले २०७६ साल चैत ७ गतेभित्र सम्पन्न गर्ने गरी २०७५ साल असोज १ गते सडक कालोपत्रेको सम्झौता गरेका थियो । तर अहिलेसम्म करिब ६० प्रतिशत मात्र प्रगति भएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार