आरजु राणा कांग्रेसबाट समानुपातिक उम्मेदवार

२०७९ आश्विन ३, सोमबार १७:२४ बजे

काठमाडौँ : कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवापत्नी समेत रहेकी केन्द्रीय सदस्य आरजु राणा देउवालाई प्रतिनिधिसभामा समानुपातिकतर्फबाट उम्मेदवार बनाउने तयारी गरेको छ । कैलाली-५ सहित देशका विभिन्न ५ ठाउँबाट प्रतिनिधिसभामा उम्मेदवारका रूपमा नाम सिफारिस भए पनि अन्तिममा उनलाई समानुपातिकतर्फ राख्ने तयारी भएको हो ।

यसअघि २०७४ मा आरजु कैलाली-५ बाटै प्रत्यक्ष निर्वाचन लडेकी थिइन् । उनलाई एमालेका नारदमुनि रानाले चुनाव हराएका थिए । मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार र सोमबार समानुपातिकतर्फ उम्मेदवारको नाम समेटिएको बन्द सूची बुझाउने मिति तोकेको छ । समानुपातिक तर्फ बन्द सूचीलाई अन्तिम रूप दिन अहिले कांग्रेस केन्द्रीय संसदीय समितिको बैठक चलिरहेको छ ।

एक पदाधिकारीले भने, ‘अहिले समितिको बैठक चलिरहेको छ । निर्वाचन आयोगमा कानुनसम्मत तरिकाले बन्द सूची बुझाउँछौँ ।’ एक पदाधिकारीका अनुसार आरजुसहित दुई सहमहामन्त्रीको नाम पनि समानुपातिकमा समेटिने भएको छ । सहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर र जीवन परियारलाई पनि समानुपातिकमा उठाइने ती पदाधिकारीले जनाए । त्यसैगरी पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि र गोपालमान श्रेष्ठको नाम पनि समानुपातिकमा समेटिने भएको छ ।

कानुन बमोजिम प्रतिनिधिसभा र प्रदेशसभामा ४० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ । जसअनुसार प्रतिनिधिसभाका २७५ मध्ये ११० जना र सातवटै प्रदेशसभामा २२० जना सदस्य समानुपातिक तर्फबाट निर्वाचित हुन्छन् । त्यसैका लागि दलहरुले सोमबारसम्म आ-आफ्नो दलका तर्फबाट आयोगमा उम्मेदवारको सूची दर्ता गर्न लागेका हुन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार