इ-सिमको माग बढेपछि एनटीसीले आजदेखि अन्य ७ स्थानबाट बिक्री गर्दै

२०७९ आश्विन ४, मंगलवार ११:४९ बजे

काठमाडौं : नेपाल टेलिकमको इम्बेडेड सिम (इ-सिम) मा ग्राहकहरुको रुचि र माग बढेपछि अन्य स्थानहरुबाट पनि सिमकार्ड वितरण गर्ने भएको छ। टेलिकमले असोज ४ गतेबाट नक्साल, चाबहिल, ठिमी, भक्तपुर, पाटन, गोंगबु र छाउनी कार्यालयबाट पनि इ-सिम बिक्री थाल्ने भएको छ। यसअघि टेलिकमले सुन्धारामा रहेको ग्राहक सेवा केन्द्रबाट मात्रै सिमकार्ड बिक्री गरिरहेको थियो।

टेलिकमले आफूसँग यथेष्ट संख्यामा इ-सिमको मौज्दात रहेको पनि जनाएको छ। मोबाइल सेटमा इ–सिम इन्स्टल गर्नका लागि क्यूआर कोडमार्फत स्क्यान गर्नुपर्छ। क्यूआर कोडको सुविधा भएका पछिल्लो पुस्ताका मोबाइल सेटमा मात्र इ–सिम प्रयोग गर्न सकिन्छ।

त्यसैले सबैभन्दा पहिले आफ्नो मोबाइल सेटमा इ–सिम चल्ने/नचल्ने यकिन गरेर मात्र इ–सिमका लागि कम्पनीका ग्राहक सेवा केन्द्रमा पुग्ने टेलिकमले आग्रह गरेको छ। यसका लागि आफ्नो मोबाइलबाट *#०६# डायल गर्नुपर्ने टेलिकमले जनाएको छ।

यसरी डायल गर्दा इआइडी लेखिएको संकेतसहित नम्बरहरु देखियो भने उक्त सेटमा इ–सिम चल्ने टेलिकमले जनाएको छ।

त्यसैगरी आइफोन र एन्ड्रोइड सिस्टमयुक्त मोबाइल सेटको सेटिङमा भएका विभिन्न अप्सन हेरेर पनि इ–सिम चल्ने वा नचल्ने पत्ता लगाउन सकिन्छ। आइफोन वा एन्ड्रोइडको सेटिङमा एड मोबाइल प्लान वा एड डेटा प्लान देखियो भने पनि त्यसमा सामान्यतः इ–सिम चल्छ भन्ने कुरा थाहा हुने टेलिकमले जनाएको छ।

फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरुका पोस्टपेड र प्रिपेड सिम हालका लागि टेलिकमले निःशुल्क इ–सिममा परिवर्तन गर्ने सुविधा दिइरहेको छ। त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमै इ–सिम उपलब्ध गराइ रहेको र नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने निकट भविष्यमा सो सिम उपलब्ध गराइने टेलिकमले जनाएको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार