नारायणी पुलबाट किन एकपछि अर्को आत्महत्या बढ्दै छ ?

२०७९ आश्विन ४, मंगलवार १५:१० बजे

चितवन : गत भदौ ७ गते दिउँसो ३ बजेतिर खैहरनी नगरपालिका–७ सुर्तनाकी २६ वर्षीया रिचा उप्रेतीले नारायणी पुलबाट नदीमा हाम फालिन् । त्यसको भोलिपल्टै (भदौ ८) दिउँसो पौने ४ बजेतिर भरतपुर–४ वैदिक टोलका ४९ वर्षीय पुरुष उक्त पुलबाटै नदीमा हेलिए । ४ दिनपछि पनि त्यस्तै घटना दोहोरियो । भदौ १२ मा एक पुरुष पुलमा स्कुटर रोकेर नदीमा हाम फाले ।

यो सिलसिला यसै रोकिएन । चितवन प्रहरीका अनुसार भदौ २१ गते बिहान ९ बजेतिर अर्का एक २५/३० वर्षका पुरुष पुलबाटै नदीमा हाम फाले । भदौ ३० गते साँझ ७ बजेतिर कालिका नगरपालिका–७ का ३२ वर्षीय अनुप पोखरेल पनि नारायणी नदीमा हाम फाले । पोखरेल पनि स्कुटर चढेरै पुलसम्म आएका थिए । नदीमा हाल फाल्नुअघि उनले मोबाइल समेत पुलमै छाडेका थिए ।

नारायणगढ र गैंडाकोट जोड्ने नारायणी नदीको पुलबाट गत भदौमा मात्रै ५ जना भेलमा हेलिए । तीमध्ये एक जनाको मात्रै उद्धार हुन सक्यो । बाँकी ४ जना बेपत्ता छन् । ५ सय मिटर लामो पुलको दायाँबायाँ करिब ३ फिट मात्रै अग्लो रेलिङ छ । ‘महिना दिनभित्रै भएका यति धेरै घटनाले अवस्था चिन्ताजनक छ भन्ने दर्शाएको छ,’ चितवन प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले भने ।

उनका अनुसार गत साउन र भदौमा मात्रै जिल्लाभर २५ जनाले आत्महत्या गरेका छन् । गत आर्थिक वर्षमा २ सय १४ जनाले आत्महत्या गर्दा नारायणीमा हाम फाल्नेहरू ४ जना थिए । तर, अहिले यो सिलसिला निकै बढेको हो । गत जेठ ६ को साँझ आएको हावाहुरीले पुलको दायाँतर्फ रहेका बिजुलीका सबै पोलहरू ढलाएको थियो । अहिले पुल खुला देखिन्छ ।

‘पुलमा नदीमा हाम फाल्न नमिल्ने गरी छेकबार लगाउनुपर्ने हो तर त्यस्तो छैन । खुला छ,’ डीएसपी पण्डितले भने, ‘पोखराको महेन्द्रपुलमा बार लगाएको देखेको थिएँ । अब यहाँ पनि त्यसो गर्नु आवश्यक देखिन्छ ।’ आत्महत्या गर्न पुलबाट फाल हाल्ने समस्या नौलो पनि होइन ।

३ वर्षअघि पनि यस्तै घटना दोहोरिएका थिए । २०७६ कात्तिक १० मा एकै पटक २ जना पुलबाट नदीमा हेलिएका थिए । त्यस वर्षको जेठ, असार र साउनमा पनि यस्तै १/१ वटा घटना भएका थिए । हरेक महिनाजस्तै अत्महत्याका घटना दोहोरिन थालेपछि रोकथामका लागि पहल गर्न युवाहरूले स्थानीय तहलाई झकझक्याएका पनि हुन् । भरतपुर महानगर युवा सञ्जालले तत्कालीन भरतपुर महानगर प्रमुख रेनु दाहाललाई कात्तिक १८ मा ज्ञापनपत्र बुझाएको थियो ।

सञ्जालले तत्कालीन गैंडाकोट नगरप्रमुख छत्रराज पौडेललाई पनि ज्ञापनपत्र बुझाएर आत्महत्या विरुद्ध अभियान चलाउन र नारायणी पुलबाट हुने आत्महत्याका घटना रोक्न पुलमा बार लगाउन आवश्यक पहल गर्न अनुरोध गरेको थियो । तर, पुलको किनारामा छेकबार लगाउन कसैको ध्यान गएन ।

मानसिक रोग विशेषज्ञ डा. सीपी सेढाईं नारायणी पुलबाट लगातार जसो यस्ता घटना हुनु चिन्ताको विषय भएको बताउँछन् । ‘यस्तो हुनु ज्यादै नराम्रो हो । लगातार जसो घटना हुन थालेपछि प्रहरीले त्यो क्षेत्रमा सक्रियता बढाउनुपर्छ । यसलाई गम्भीर रूपमा लिएर पुलमा छेकबार बनाउनुपर्छ,’ डा. सेढाईंले भने । जनचेतनाका अलावा छेकबार बनाइनु पनि आत्महत्या रोकथामका लागि सहयोगी हुने उनको भनाइ छ ।

‘मर्छु भन्ने मन बनाएर गएको मान्छे पुलमा पुग्दा केही नदेखेपछि आत्महत्या गर्ने हो । यदि त्यहाँ सुरक्षा प्रबन्ध छ भने उसको विचार बदलिन सक्छ । एक पटक विचार बदलेपछि दोहोर्‍याएर आत्महत्या गर्ने विचारमा पुग्ने मान्छे कमै हुन्छन्,’ उनले भने ।

सुरक्षा र उद्धार प्रहरीको जिम्मेवारी भित्र पर्छ । आत्महत्याका घटना बढ्न थालेपछि गैंडाकोट र नारायणगढको प्रहरी संयन्त्र सतर्क बनेको डीएसपी पण्डितले दाबी गरे ।तर, प्रायः घटना भएपछि मात्रै प्रहरी सक्रिय हुने गरेको छ । भदौमा भएका ५ मध्ये एउटा घटनामा मात्रै प्रहरीले हाम फाल्ने व्यक्तिको जीवितै उद्धार गर्न सकेको थियो ।

नारायणी पुलबाट मात्रै होइन, मुग्लिङ पुलबाट पनि भदौ ३१ गते साँझ साढे ५ बजेतिर एक व्यक्ति पुलमा मोटरसाइकल र झोला राखेर त्रिशूली नदीमा हाम फालेका थिए । ती व्यक्तिलाई खोज्न तत्कालै प्रहरी जुटेको थियो । तर, उनको शव आइतबार मात्रै मंगलपुर गणेश मन्दिरपारि नारायणीको भंगालोमा भेटिएको थियो ।

प्रहरीले खोजतलास गरेर नभई, स्थानीयले दिएको सूचनाका आधारमा उक्त शव भेटिएको थियो । विपद्का घटनामा उद्धारमा खट्ने प्रहरीहरू नै नदीमा हाम फालेको व्यक्तिको खोजीमा जुट्ने गरेको डीएसपी पण्डित बताउँछन् । तर, खोजीका लागि केही सामग्री भए पनि पर्याप्त भने नभएको उद्धारमा खटिने सुरक्षाकर्मीको भनाइ छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार