आदेशले रोकिएन महानगरको डोजर : भत्कायो सय घरका कम्पाउन्ड

२०७९ आश्विन ४, मंगलवार १७:३४ बजे

काठमाडौँ : काठमाडौं महानगरपालिकाले भदौ पहिला सातादेखि सुरु गरेको अनधिकृत संरचनामाथि डोजर चलाउने अभियान जारी छ । महानगरपालिकाले अनधिकृत संरचना हटाउन भनेर ३५ दिने सूचना समेत निकालेको थियो तर सम्बन्धित घरधनीले अटेर गरेपछि डोजर लगेर भत्काइरहेको छ ।

त्यस्ता अनाधिकृत संरचना महानगरको टोलीले भत्काउनुअघि एक पटक सूचना दिने गरेको छ । महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे संरचना भत्काउनुअघि सबैभन्दा पहिला महानगरको संयन्त्रले अनधिकृत संरचनाको पहिचान गर्ने गर्छ ।

अनधिकृत संरचनाको पहिचान महानगरमा आउने सूचना, जनप्रतिनिधिबाट प्राप्त जानकारी, नगर प्रहरीको सूचना,आउने उजुरीहरुको आधारमा गर्ने गरिएको छ । ती संरचनाको वस्तुस्थिती बुझ्न र त्यसलाई भेरिफाइ गरेपछि नगर प्रहरीले माइकिङ गर्ने पाण्डेले बताए । माइकिङ गरेको भोलिपल्टदेखि जुनसुकै समयमा ती संरचना महानगरले भत्काउँदै आएको छ ।

पाण्डे भन्छन्,‘हाम्रो यसअघिको ३५ दिने सार्वजनिक सूचना नै संरचना भत्काउन काफी छ तर पनि हामी एक पटक चाही माइकिङ गरेर हटाउन भन्दै आएका छौं ।’ अभियान सुरु भएयता महानगरले वडा नम्बर ५, २४, २५ र २७ मा बनाइएका ओभरल्याप हटाएको छ । १६ नम्बर वडामा ७ वटा टहरा र १ वटा भर्‍याङ, भोटाहिटी पिपलबोटमुनि रहेका २ वटा टहरा हटाइएको नगर प्रहरी निरीक्षक धर्म भण्डारीले जानकारी दिए ।

यस्तै, माछापोखरी नापातौल अगाडि र महादेव खोला किनारमा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका स्थायी र अस्थायी गरेर ४३ वटा टहरा महानगरले हटाएको छ । वनस्थली ढुंगेधारा क्षेत्रको सार्वजनिक जग्गामा निर्माण गरिएको टहरा पनि हटाएर खाली गराइएको उनले बताए ।

नगर प्रहरीले वसुन्धारा चोकबाट सिर्जनशील मार्गसम्म करिब ९ सय मिटर जीएलडी बाटो खोल्ने कार्यमा करिब सय घरको कम्पाउन्ड समेत भत्काएको छ । ती कम्पाउन्ड सार्वजनिक जग्गाभित्र निर्माण गरिएका थिए । यस्तै, वडा नम्बर १०मा सडक खोल्ने क्रममा वडाध्यक्षको रोहबरमा ४ वटा घर भत्काइएको नगर प्रहरीले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार