बाजुरामा झडप गर्नेहरु प्रहरीको इन्सास राइफल खोसेर फरार

२०७९ मंसिर ४, आईतवार २०:५४ बजे

काठमाडौं : बाजुराको त्रिवेणीमा नगरपालिका वडा नम्बर–७ मा प्रहरीको गोली लागेर २६ वर्षीय सन्दीप ऐडीको ज्यान गएको छ । मृतक वडा नम्बर–९ स्थित रत्नावती माविमा कार्यरत शिक्षक मानबहादुर ऐडी छोरा हुन् । उनी वडा नम्बर–७ का स्थानीय हुन् ।

त्रिवेणी–७ स्थित नाटेश्वरी मतदान केन्द्रमा साँझ पौने ५ बजेबाट झडप सुरु भएको थियो । झडप गर्नेहरूमा नेकपा एमाले र कांग्रेसका कार्यकर्ता थिए । झडपको क्रममा प्रहरीसँग भएको इन्सास राइफल खोसेर झडप गर्नेमध्ये केही भागेका छन् । इन्सास राइफल अझै फेला नपरेको प्रहरी प्रवक्ता (एसएसपी) दान बहादुर कार्कीले रातोपाटीलाई बताए ।

आन्दोलनकारीले राइफल खोसेर भागेपछि प्रहरीले गोली चलायो । प्रहरीले बल प्रयोग गर्दा सन्दीप ऐडीको मृत्यु भएको एसएसपी कार्कीले जानकारी दिए । सन्दीपको घटनास्थलमै मृत्यु भएको हो । झडपमा परेर प्रहरी सहायक हवल्दार कृष्ण बहादुर कुँवर घाइते भएका छन् ।

झडपमा त्रिवेणी नगरपालिका–७ बस्ने ३८ वर्षीय स्वयंसेवक पर्शुराम उपाध्याय, नेपाली कांग्रेसका प्रतिनिधि ३६ वर्षीय खड्कबहादुर ऐडी र ४८ वर्षका पूर्व वडा अध्यक्ष प्रेम बहादुर थापा घाइते भएका छन् । थापा नेपाली कांग्रेसका पूर्व वडा अध्यक्ष हुन् । त्यस्तै विजयराज उपाध्याय पनि सामान्य घाइते छन् । घाइतेहरूलाई उपचारका लागी सुर्खेतमा पठाइएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार