बरुण इन्भेष्टमेन्टले १५ लाख कित्ता शेयर निष्कासन गर्ने

२०७९ आश्विन ५, बुधबार १६:०८ बजे

काठमाडौं : बरुण इन्भेष्टमेन्ट लि. ले सर्वसाधारण (कम्पनीका कर्मचारी र सामुहिक लगानी कोष समेत) लाई छुट्याएको १५ लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लि. लाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सो सम्बन्धमा काठमाण्डौंमा आयोजना गरिएको एक कार्यक्रममा उक्त कम्पनी र क्यापीटलबीच शेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा बरुण इन्भेष्टमेन्ट लि.को तर्फबाट अध्यक्ष श्री शिव प्रसाद घिमिरे र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री पारस मणी ढकालले हस्ताक्षर गरे।

वि.सं. २०७७ सालमा पब्लिक कम्पनीको रुपमा स्थापना भई ललितपुर जिल्लाको भनिमण्डल–४ मा रजिष्टर्ड कार्यालय रहेको यस बरुण इन्भेष्टमेन्ट कम्पनीको अधिकृत पुँजी ६० करोड रुपैयाँ र जारी पुँजी ६० करोड रुपैयाँ रहेको छ । संस्थापक समुहको ७७ प्रतिशत शेयर रहेको यस कम्पनीमा १७ जना संस्थापक शेयरधनीहरुबाट ४० करोड बराबरको शेयरपुँजी चुक्ता भैसकेको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा विधिवत रुपमा दर्ता भै विशेष गरी उर्जा क्षेत्रमा लगानी गर्ने कम्पनीमा पर्दछ ।

यस कम्पनीमा एस.जि ग्रुप मुख्य लगानीकर्ताको रुपमा रहेको छ । बरुण इन्भेष्टमेन्ट लि.ले बझाङ्ग स्थित कलंगा हाईड्रो लि.(१५.३३ मेगावाट) , सानीगाड हाईड्रो लि. (३८.४७ मेगावाट) र बुङगल हाईड्रो लि. (१०.७० मेगावाट) गरी ३ हाईड्रो कम्पनीमा कुल ६४.४९ मेगावाट मा मुख्य लगानी कर्ताको रुपमा रहेको छ । हालै पनि बरुण इन्भेष्टमेन्ट ले संखुवा खोलामा हाईड्रो प्रवद्धन गर्ने तयारीमा रहेको , गुराँस हाईड्रो प्रा.लि. (४१.०६ मेगावाट) मा पनि लगानी प्रतिबध्ता जनाएको छ । बरुण इन्भेष्टमेन्ट तथा ग्लोबल आइएमई क्यापिटल ले यसै श्रावण भित्रमा IPO ल्याउने गरी तयारी थालेको छ ।

बरुण इन्भेष्टमेन्ट ले भविष्यमा अरु पनि थप हाईड्रो पावर, होटेल , कृषि लगाएतका क्षेत्रमा पनि लगानी गर्ने तयारी रहेको कम्पनीका संस्थापक अध्यक्ष श्री शिव प्रसाद घिमिरे बताउछन् । घिमिरे एस.जि ग्रुपका अध्यक्ष समेत हुन । बरुण इन्भेष्टमेन्ट मा मुख्य लगानिकर्ताका रुपमा रहेको एस.जि ग्रुपको एल.पि.जि ग्यास, बोटलिङ्ग , पेट्रोलियम पदार्थ वितरण, अटोमोबिल, चिया, निर्माण, बैकिङ्ग लगाएत विभिन्न क्षेत्रमा लगानी रहेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार