धोविघाटमा लागेको आगो डेढ घन्टापछि नियन्त्रणमा

२०७९ आश्विन ५, बुधबार १६:४७ बजे

ललितपुर : ललितपुरको धोविघाटस्थित एउटा कवाडी गोदाममा लागेको आगो करिब डेढ घन्टामा नियन्त्रणमा आएको छ। ललितपुर महानगरपालिका-३ धोविघाट, बागडोलस्थित प्रकाश खत्रीको जग्गा भाडामा लिएर बच्चा साहले सञ्चालन गरेको कागतको कवाडी गोदाममा बुधबार दिउँसो १२:५५ बजे आगो लागेको थियो।

करेन्ट सर्ट भएर लागेको आगो नियन्त्रणका लागि ललितपुरका २, काठमाडौं र भक्तपुरका १-१ वटा दमकल तथा ५ वटा पानी ट्याङ्करलाई करिब डेढ घन्टा लागेको थियो। आगलागीमा परि २ भारतीयसहित ३ जना घाइते भएका छन्। जसमध्ये भारत घर भएका ६५ वर्षिय शिवनारायण पोदार गम्भीर घाइते भएका छन्। उनको पुरै शरीर जलेको प्रहरीले जनाएको छ।

यस्तै भारतकै ४५ वर्षिय राम आशिष साह र चितवनका ३० वर्षिय गणेश गुरूङको शरीर आंशिक जलेको छ। तीनै जना घाइतेलाई स्टार अस्पताल सानेमा उपचार हुन नसकेपछि कीर्तिपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

आगलागी नियन्त्रणका लागि प्रहरी नायब उपरिक्षकको कमाण्डमा ९० जना नेपाल प्रहरी, २५ जना नेपाली सेना, ४० जना ललितपुर महानगरपालिका प्रहरी परिचालन भएको थियो।

विगत १४ वर्षदेखि कवाडी गोदाम सञ्चालन गर्दै आएका साहले ५ जनालाई रोजगारी समेत दिएका थिए।उनी भारतीय नागरिक भए पनि २०-२२ वर्षदेखि नेपालमै बसेर विभिन्न व्यवसाय गर्दै आएका थिए। अचानक गोदाममा आगो लाग्दा ५ जना कामदारहरू गोदाममै थिए।

क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार