राष्ट्रपतिले नागरिकमाथि अपराध गर्नुभयो : यादव

२०७९ आश्विन ५, बुधबार २१:२० बजे

मकवानपुर : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकमाथि अपराध गरेको टिप्पणी गरेका छन् । बुधवार हेटौंडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले राष्ट्रपतिले नागरिकता विधेयकलाई प्रमाणीकरण नगरेर नागरिकमाथि अपराध गरेको बताएका हुन् ।

राष्ट्रपतिले नागरिकता विधेयकलाई पारित नगरेर असंवैधानिक कदम चालेको बताए । ‘नागरिकता विधेयकलाई पारित नगर्नु राष्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक कदम हो । उहाँले नेपाली नागरिकमाथि अपराध गर्नुभएको छ,’ अध्यक्ष यादवले भने, ‘नेपाली नागरिकको सन्तान अनागरिक हुनुपर्ने अवस्था कहिलेसम्म ? राष्ट्रपतिको कदमले नागरिक भएर पनि अनागरिक रहनु पर्नेहरुको मानव अधिकार खोसिएको छ ।

अध्यक्ष यादवले दुई वटा सदनमा छलफल भएर पास भएको नागरिकता विधेयकलाई प्रमाणीकरण नगरेर संविधानको संरक्षक राष्ट्रपतिबाटै संविधानको उलङ्घन भएको बताए । राष्ट्रपतिबाट संविधानको उल्लङ्घन जस्तो कार्य हुन लज्जाको विषय भएको उनले बताए । अध्यक्ष यादवले राष्ट्रपतिले विधेयक पुनः विचारका लागि संसदमा नै पठाउने अधिकार भएको भन्दै विधेयकलाई फेरबदल गर्ने अधिकार केवल संसदलाई भएको बताए । यस्ता कार्यहरू गरेर राष्ट्रपतिले अराजकता कायम गर्न खोजेको उनले बताए ।

उनले राष्ट्रपतिले एमालेको सामान्य कार्यकर्ताको शैलीमा काम गरेको भन्दै त्यसभन्दा माथि उठेर आफ्नो अधिकार क्षेत्रमा अधीन रहेर देश र जनताको पक्षमा काम गर्नुपर्ने बताए । ‘अन्तर्राष्ट्रिय कानुनकै व्याख्या गर्ने हो भने पनि नागरिकता नदिनु भनेको मानवतावादी कानुनको उलङ्घन हो । कसैलाई नागरिकता र राष्ट्रियता विहीन बनाइराख्ने जुन कार्य हो त्यो अपराध हो,’ उनले भने ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार