ललितपुर-३ : सहरी क्षेत्रको गणनामा तोसिमा कार्कीले बढाइन् मतान्तर

२०७९ मंसिर ५, सोमबार १९:०२ बजे

ललितपुर : सहरी क्षेत्रको मतगणना सुरु भएसँगै ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले मतान्तर बढाएकी छन् ।

चक्रपथ बाहिरका बस्तीको मत गन्दा एमालेका उम्मेदवार अमृत खड्काले अग्रता लिएका थिए । सहरी क्षेत्र र नयाँ बस्तीको मतगणना सुरु भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. कार्कीले मतान्तर बढाएकी हुन् ।

ललितपुर महानगरपालिका-२१ खोकना र वडा नम्बर २२ को बुङ्मती क्षेत्रबाट मतगणना सुरु भएको थियो । स्थानीय चुनावमा यी दुवै वडामा माओवादी केन्द्रले जित हात पारेको थियो । तर सात महिनाअघि आफैंले जितेको वडामा पनि माओवादीले धेरै मत पाउन सकेन ।

खोकना र बुङ्मतीको मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार डा. कार्की पछाडि थिइन् । यी क्षेत्रको मतगणना हुँदा केही समय भुसालले तोसिमालाई उछिनेकी थिइन् ।

ललितपुर-३ का निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार यतिखेर खोकना र बुङ्मतीका एक-एक मतदान केन्द्रको गणना सकिएको छ । खोकनामा दुई र बुङ्मतीमा दुई मतदान केन्द्र थिए ।

यससँगै ललितपुर महानगरपालिकाको २४ नम्बर वडामा पर्ने धापाखेल, वडा नम्बर १८ भैंसेपाटी र वडा नम्बर २५ सैंबुको मतगणना भइरहेको छ । धापाखेल थोरै पुरानो बस्ती र अधिकांश नयाँ बस्ती भएको क्षेत्र हो । यो वडामा चारवटा मतदान केन्द्र छन् । त्यसैगरी भैंसेपाटी डा. कार्कीको बसोबास भएको क्षेत्र हो ।

यी क्षेत्रको मतगणना सुरु भएसँगै डा. कार्कीले एमाले उम्मेदवार अमृत खड्कासँग ३०० मतको अन्तर बनाएकी छन् । माओवादीकी उम्मेदवार भुसालले डा. कार्कीले पाएको भन्दा करिब एक हजार कम मत पाएकी छन् ।

सोमबार साँझसम्म सार्वजनिक मत परिणामअनुसार ५ हजार ८६८ मत गणना हुँदा तोसिमाले २ हजार १४८ मत पाइन् भने एमालेका खड्काले १ हजार ९०५ र माओवादी केन्द्रकी पम्फा भुसालले एक हजार १९८ मत पाएकी छन् ।

ललितपुरको खोकनामा माओवादीका रवीन्द्र महर्जनले वडाध्यक्षमा विजयी हुँदा १ हजार २०० बढी मत ल्याएका थिए । खोकना र बुङ्मतीका एक-एक मतदान केन्द्रको मतगणना भइसक्दा पनि पनि भुसालले २ हजार मत कटाउन सकेकी छैनन् ।

ललितपुर वडा नम्बर २१ र २२ बाट मतगणना सुरु हुँदा डा. कार्कीले खड्कालाई पछ्याइरहेकी थिइन् । तर सहरी क्षेत्रको मतगणना सुरु भएसँगै कार्कीको मतान्तर बढेको छ । ललितपुर-३ मा ललितपुर महानगरपालिकाका १, २, ३, ४, ५, १०, १३, १४, १५, १८, २०, २१, २२, २३, २४, २५, २६, २७, २८ र २९ वडा पर्छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार