अपांगता भएका ३ सय व्यक्तिका लागि रोजगार मेला

२०७९ आश्विन ६, बिहीबार १८:०९ बजे

मोरङ : अपांगता भएका व्यक्तिहरूका लागि विराटनगरमा पहिलोपल्ट रोजगार मेला आयोजना गर्न लागिएको छ । यो मेलाले प्रदेश १ स्थित औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरूलाई अपांगमैत्री बनाउनुका साथै अपांगता भएका व्यक्तिहरूप्रतिको नकारात्मक दृष्टिकोण हटाउने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १, द लेप्रोसी मिसन नेपाल, राष्ट्रिय अपांग महासंघ प्रदेश १ र करुणा फाउन्डेसनको सहयोगमा कार्तिक १८ र १९ गते विराटनगरस्थित जैन भवनको प्रांगणमा मेला आयोजना गर्न लागिएको छ ।

मेलामा प्रदेश १ स्थित मोरङ, सुनसरी, झापा, इलाम, धनकुटा, पाँचथर, भोजपुर र संखुवासभाका अपांगता भएका ३ सय व्यक्तिहरूलाई यस प्रदेशस्थित औद्योगिक, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्था, बैंकिङ तथा विकास क्षेत्रमा रोजगार दिने उद्देश्य रहेको द लेप्रोसी मिसन नेपालअन्तर्गतका फाउन्ड परियोजनाका अध्यक्ष विपिन दासले बताए ।

‘मेला सहभागिताका लागि यस प्रदेशका ती ७ जिल्लाबाट ७ सय २९ जनाको नाम सूचीकृत भएको भए पनि त्यसमध्ये योग्यता र क्षमताका आधारमा रोजगारीका लागि योग्य तीन सय जनाको बायोडेटा तयार पारेका छौं,’ उनले भने, ‘तीन सय जनालाई ९ वटा क्षेत्रमा रोजगारीका लागि सूचीकृत गरेका छौं ।’

रोजगार मेलामा सहभागी हुने अपांगता भएका व्यक्तिहरूलाई रोजगारी, काम गर्ने तरिका र रोजगारीको दिगोपनका लागि अभिमुखीकरण तालिमसमेत दिएको दासले बताए । रोजगारीमा जानका लागि अपांगता भएका व्यक्तिहरूलाई आवश्यक सहायक सामग्रीसमेत परियोजनाले प्रदान गरी काम गर्न योग्य बनाएर मात्रै मेलामा सहभागी गराउने उनको भनाइ थियो ।

उनले तेह्रथुम, उदयपुर, काठमाडौं लगायत जिल्लाबाट पनि अपांगता भएका व्यक्तिहरुले मेलामा सहभागी भएर रोजगारदाताहरुसँग रोजगारीका लागि प्रत्यक्ष रुपमा छलफल गर्न खुल्ला गरिएको बताए

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार