राष्ट्रपतिको असंवैधानिक कदमको सुरुवात कटवाल प्रकरणबाटै भएको थियो : बाबुराम

२०७९ आश्विन ७, शुक्रबार १०:३३ बजे

काठमाडौँ : पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रपतिले चाल्ने असंवैधानिक कदमको सुरुवात तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाललाई तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले गरेको थमौतीबाट सुरु भएको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर असंवैधानिक कदम चालेको उल्लेख गर्दै भट्टराईले उक्त कुरा भनेका हुन् ।

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आत्मकथा ‘मेरा नौ दशक : पाँच व्यवस्था, पाँच राजा, पाँचपटक प्रधानमन्त्री’ पुस्तकको विमोचन कार्यक्रममा बिहीबार भट्टराईले उक्त कुरा बताएका हुन् ।

कटवाल प्रकरणमा आफूले पनि भूमिका खेलेको भनेर थापाले लेखेको भट्टराईले बताए । ‘कटवाल प्रकणमा उहाँले पनि भूमिका खेल्नुभएको रहेछ । त्यसलाई स्वीकार गर्नुभएको छ । त्यतिबेला माओवादीले सेना नै कब्जा गर्न खोजेको भन्ने आगो लगाएको थियो । त्यो तथ्यसंगत थिएन,’ भट्टराईले भने, ‘राजाप्रति निष्ठावान सेना जनताप्रति निष्ठावान गर्नुपर्छ भन्ने हो । मन्त्रिषरिषद्ले गरेको निर्णयलाई पनि असंवैधानिक तरिकाले; अहिले पनि राष्ट्रपतिको असंवैधानिक कदम आएको छ, सुरुवात त्यतिबेला नै भएको थियो ।’

माओवादी अध्यक्ष पुष्पकमल दाहाल पहिलोपटक प्रधानमन्त्री भएका बेला तत्कालीन प्रधानसेनापति कटवाललाई बर्खास्त गरिएको थियो । २०६६ वैशाखमा कटवाललाई हटाइएकोमा तत्कालीन राष्ट्रपति यादवले उल्ट्याइदिएका थिए । थापाको पुस्तकमा तत्कालीन ७ राजनीतिक दल र माओवादीबीच भएको १२ बुँदे सम्झौतालाई भारतमा भएको भनेर लेखिएको कुरा पनि तथ्यसंगत नभएको भट्टराईले बताए ।

त्यस्तै, थापाले पुस्तकमा पञ्चायत कसरी सुरुवात भयो भन्ने कुरा उल्लेख भएको भट्टराईले बताए । आर्थिक लाभका निम्ती राज्यको दोहन गरेको कुरा थापाले पुस्तकमार्फत स्वीकार गरेको पनि भट्टराईले बताए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार