रेशम चौधरीको रिहाइको एजेण्डासहित लोसपाले थाल्यो वार्ता

२०७९ श्रावण ११, बुधबार ०८:४० बजे

काठमाडौं : महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले रेशम चौधरीको रिहाइका लागि सरकारसँग वार्ता थालेको छ । दुवै पक्षले बनाएको वार्ता समितिमार्फत छलफल भइरहेको हो । यसअघि दुई पक्षबीच भएको छलफलको आधारमा नागरिकता ऐन संशोधन विधेयक अघि बढाइएको हो ।

अब रेशम चौधरीको रिहाइका लागि वार्ता केन्द्रित भएको लोसपाका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले बताए । कर्णका अनुसार नागरिकता सम्बन्धी समस्या समाधानको प्रक्रिया थालिएसँगै अब रेशम चौधरीको रिहाइलाई लोसपाले महत्त्व दिएको छ । ‘अब हाम्रो एक मात्र मिसन भनेको रेशम चौधरीको रिहाइ हो,’ लोसपाको तर्फबाट गठन भएको वार्ता समितिका सदस्यसमेत रहेका कर्णले भने, ‘लामो संघर्षपछि नागरिकता विधेयक पारित गराउन सफल भयौं अबको मिसन रेशम चौधरीको रिहाइ हो ।’

टीकापुर घटनाको मुख्य दोषीका रुपमा जेल जीवन बिताइरहेका चौधरीको रिहाइका लागि लोसपाले सरकारसँग पटकपटक वार्ता गरेको छ । तर यसपटक आफूहरु आशावादी रहेको कर्णले बताए । उनले भने, ‘यस पटक वार्ताको क्रममा सरकार पक्ष सकारात्मक देखिएको छ ।’ कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा ९कोइराला० लाई सञ्चो नभएका कारण वार्ताले गति लिन नसकेको उनको भनाइ छ । कानुन मन्त्री शर्मा निको भएपछि वार्ताले ठोस रुप लिने उनले बताए ।

रेशम चौधरीको रिहाइपछि आन्दोलनकारीमाथि लागेको मुद्दा, घाइते तथा सहिद परिवारको भरणपोषणका लागि पनि सरकारसँग छलफल गरिने उनले बताए । हरेक विषयमा एकैपटक छलफल गर्दा अलमल देखिने भएकाले एकएक विषयमा छलफल गरी टुङ्गो लगाउँदै जाने गरी छलफल चलिरहेको कर्ण बताउँछन् । विगतमा प्याकेजमै सहमति गरौं भनेर अडान राख्दा पनि धेरै माग ओझेलमा परेको लोसपा नेताहरुको बुझाई छ । जुन विषयमा सहमति हुँदै जान्छ, ती विषयहरु टुङ्ग्याउँदै अगाडि बढ्ने लोसपाले जनाएको छ ।

रेशम चौधरी तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालको तर्फबाट कैलाली–१ बाट प्रतिनिधिसभा चुनाव जितेका थिए । अदालतले दोषी ठहर गरेपछि उनी जेलमा छन् । पछिल्लो समय रेशम चौधरीले आफ्नो श्रीमतीलाई अध्यक्ष राखेर नागरिक उन्मुक्ति पार्टी गठन गरेका छन् । उनले आफ्नै पार्टी गठन गरे पनि लोसपाले उनको रिहाइका लागि पहल गरिरहेको हो । आफ्नो पार्टीमा रहेको बेला उनी जेल परेका हुनाले उनको रिहाइलाई आफूहरुले नैतिक दायित्व ठानेर पहल गरिरहेको लोसपाका नेता मनिष मिश्र बताउँछन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार