नारायणगढ-बुटवल सडक विस्तारमा प्रगति नभएपछि ठेक्का तोडिँदै

२०७९ आश्विन १३, बिहीबार १४:४१ बजे

काठमाडौँ : नारायणगढ–बुटवल सडक विस्तारमा ठेकेदारलाई पटक–पटक ताकेता गर्दा पनि काममा प्रगति नदेखिएपछि ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको छ । नारायणगढ–बुटवल सडक योजना कार्यालयले यससम्बन्धी सार्वजनिक सूचना प्रकाशन गर्दै ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको हो ।

ठेक्का तोड्ने तयारीमा रहेको र कानुनी प्रक्रिया पूरा गर्न मात्र सूचना निकालिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले बताए । ‘पर्याप्त स्रोत ,साधन र जनशक्ति जुटाएर तीव्र गतिमा काम गरे ठेक्का जोगिने छ,’ मन्त्री राईले भने, ‘नत्र सिधै तोडिने छ ।’ ठेकेदार कम्पनीलाई एक महिनाको चेतावनी दिइएको छ । सूचनामा एक महिनाभित्र काममा अपेक्षाकृत प्रगति नदेखिए सीधै ठेक्का तोडिने जनाइएको छ ।

दसैंलाई दृष्टिगत गरी सडक सहज बनाउन भनिए पनि ठेकेदारले मर्मतमा कुनै चासो दिएका छैनन् । आगामी कात्तिक ९ सम्मलाई समय दिइएको हो । ठेक्काको म्याद सकिए पनि निर्माणमा कुनै प्रगति छैन । ठेक्का सम्झौता सकिँदा निर्माणको भौतिक प्रगति १८.४४ प्रतिशत मात्र छ । यसको ठेक्का आर्थिक वर्ष ०७५/७६ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको हो । यसअनुसार निर्माणको काम ०७९ साउन २२ भित्र सकिसक्नुपर्ने हो ।

तर म्याद सकिँदा प्रगति २० प्रतिशत कट्न सकेको छैन । सडक भत्काएर अलपत्र पारिएपछि यात्रुले आवतजावतमा सास्ती खेप्नुपरेको छ । मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलका अनुसार निर्माण व्यवसायीकालागि यो अन्तिम अबसर हो । ‘धेरै ताकेता गर्‍यौं, तर ठेकेदारले निर्माण प्रगति बढाउन सकेनन,’ सचिव सिग्देलले भने, ‘त्यसैले अन्तिम विकल्पका रूपमा ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको हो ।’

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार