के थियो राजा वीरेन्द्रको शान्ति क्षेत्र घोषणाको प्रस्तावमा ?

२०७९ पुष १४, बिहीबार १८:५९ बजे

काठमाडौं : नेपाललाई चीन र भारतको बीचमा रहेको ‘बफर’ राज्य भनी कतिपय विदेशी लेखकले चित्रण गर्थे । अर्थात् ठूला शक्ति राष्ट्रहरूले दुई विरोधी शक्तिहरूबीच प्रत्यक्ष संघर्ष नपरोस् भनी खडा गरिएको क्षेत्रको रूपमा नेपाललाई लिइन्थ्यो ।

न्युयोर्कबाट प्रकाशित हुने अमेरिकी ‘साप्ताहिक’ न्युजविकलाई ५ सेप्टेम्बर १९७३ मा दिएको अन्तर्वार्ता वीरेन्द्र यही सन्दर्भमा बोलेका थिए, ‘बफर राज्यको सिद्धान्त पुरानो भइसकेको छ । विश्वका ५० भन्दा बढी देशहरूसँग स्वतन्त्र सम्बन्ध भएको नेपाल एक स्वाधीन देश हो । नेपाल उपमहाद्वीपको भाग होइन, चीन र भारत दुवैलाई छुने एसियाको भूभाग हो हामी यी दुवै शक्तिहरूसँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्न सक्छौँ भन्ने तथ्य हाम्रो ऐतिहासिक अनुभवले सिद्ध गर्छ । एउटालाई अर्कोसँग जुधाउनु हामी अदूरदर्शी नीति ठान्दछौँ ।’

आफ्नो शुभ राज्याभिषेकको बिदाइ समारोह (२६ फेब्रुअरी १९७५) मा उनले करिब ६० देशका पाहुनासमक्ष नेपाललाई ‘शान्ति क्षेत्र’ घोषणा गर्ने प्रस्ताव गरेका थिए । नेपालको संविधान दोस्रो संंशोधनको घोषणा गर्दा १२ डिसेम्बर १९७५ मा वीरेन्द्रले शान्ति क्षेत्र प्रस्तावको उद्देश्य स्पष्ट पारेका थिए– देश विकासको निमित्त आन्तरिक स्थिरताको जति खाँचो छ, हाम्रो निमित्त हाम्रो महाद्वीप र खासगरी एसियाको यस क्षेत्रमा शान्ति कायम राख्न त्यत्तिकै आवश्यक छ । शान्तिलाई खलबल्याउने संकेत बेलाबेला नदेखिएका होइनन्, कहीँकतै हाम्रो भेकतिर कुनै कारणवश शान्ति खलबलिन गएमा त्यसको वास्तविक परिणाम के कस्तो हुन सक्छ— यो कुरा हामीले भन्नु परोइन जस्तो लाग्छ । त्यसैले नेपाललाई शान्ति क्षेत्र बनाउन प्रस्ताव गरेका हौँ ।’

प्रस्तावमाथि समर्थन

वीरेन्द्रको शान्ति क्षेत्रको प्रस्तावलाई सोभियत संघका सर्वोच्च सोभियतका अध्यक्ष मण्डलका उपाध्यक्ष तुरावाई कुलालोभले समर्थन गरेका थिए । वक्तव्य दिएरै समर्थन गर्ने उनी पहिलो विदेशी थिए ।

पाकिस्तानका प्रधानमन्त्री जुलफिकर अली भुट्टोले ‘नयाँ सन्देश’ पत्रिकालाई २१ अप्रिल १९७५ मा दिएको अन्तर्वार्तामा भनेका थिए— ‘हामीले आफैँ पनि त्यसै किसिमका प्रस्तावमा अग्रसरिता लिएका छौँ । हामीले हिन्द महासागरलाई शान्तिको महासागर घोषित गरियोस् भन्ने विषय राष्ट्र संघमा उठाएका छौँ । तसर्थ हामीले पनि मित्र देश नेपालका राजाबाट राखिएको त्यस प्रस्तावको स्वागत गर्छौं ।’

चीनले भने दूतावासबाट निस्कने बुलेटिनमार्फत समर्थन जनाएको थियो । चिनियाँ दूतावासको समाचार बुलेटिन, २ अगस्ट १९७५मा उल्लेख छ, ‘हामीले सदाजस्तै नेपाली जनताको विदेशी हस्तक्षेपका विरुद्ध र राष्ट्रिय स्वतन्त्रता, राज्यको सार्वभौमिकताको रक्षाको निम्ति गरेका न्यायोचित संघर्ष र श्री ५ महाराजाधिराज वीरेन्द्रबाट नेपाललाई शान्ति क्षेत्र घोषणा गरेको उचित अडानलाई दृढ समर्थन गर्दछौँ ।’

यस्तो छ, नेपाललाई ‘शान्ति क्षेत्र’ घोषित गरियोस् भन्ने वीरन्द्रको प्रस्ताव :

विशिष्ट मित्रगण !

१) हाम्रो राज्याभिषेक समारोहमा भाग लिन नेपालसम्म आउने कष्ट गरी मैत्रीभाव दर्शाउनु भएकोमा तपाईंहरूप्रति हार्दिक आभार प्रकट गर्ने चाहे पनि उत्वस र विधिविधानहरूमा धेरैजसो समय दिनुपरेकोले हामीलाई अवसर मिलेन । हामी यस समारोहलाई हाम्रो राष्ट्रिय एकता तथा ऐतिहासिक परम्परा प्रतीक स्वरूप मनाउँछौँ । यस अवसरमा तपाईंहरूको पनि असाधारण उपस्थित भई दिएकोले हामीले हामीलाई ठूलो सन्तोष लागेको छ । वास्तवमा, मेरो देश जनताप्रति तपाईंहरूको सदभावना र मैत्रीको यो एउटा अर्को उदाहरण हो भन्ने हामीले ठानेका छौँ ।

२) हामीलाई परिआएका दुःखसुखका बेला तपाईंहरूले देखाउनुभएको मैत्रीभाव र उदारतापूर्ण सहयोगलाई हाम्रो राष्ट्रले कृतज्ञतापूर्वक सम्झिराखेको र त्यसै भावना तपाईंहरूप्रति पनि लिइराखेको छ भन्ने कुरामा म आज तपाईंहरूलाई विश्वस्त तुल्याउन चाहन्छु ।

३) सानो देश नेपाल विश्वको सबभन्दा अग्ला पर्वत शृंखलाको माझमा पर्दछ । हाम्रो देशमा विभिन्न जलवायु पाइन्छन् हाम्रो बहसंख्यक जनता खेतीपातीद्वारा जीवन निर्वाह गर्दछन् । हाम्रा गाउँले भेगमा अझै पशुपालन गरी बिताउने पनि छन् भने सहरमा औद्योगिक युगको थालनी पनि हुँदैछ । यति सानो देश भइकन नेपालमा विभिन्न जातिका मानिसहरू र धेरै थरीका भौगोलिक बनौटहरू पाइन्छन् ।

४) हाम्रो इतिहासको थालनीदेखि नै हामीले स्वाधीनताको गुण जन्मजात पाएका छौँ । साथै लगनशीलता, सरलता र साहस पनि हाम्रो राष्ट्रिय जीवनका अभिन्न अंग हुन् । हाम्रो भूखण्डको बनोट जतिसुकै विभिन्न रूपको भए पनि हामी एउटै ऐतिहासिक पुरम्पराले बलियोसँग बाँधिएका छौँ र आफ्नो साझा भविष्यतिर आशा र विश्वासका साथ दृष्टि दिइराखेका छौँ । बाहिरबाट आउने जो सुकै पनि हाम्रो देशमा पाइने विविधता, परिवर्तन र सौन्दर्य राशिले निरन्तर विस्मित हुन्छन् । नेपालको विहंगम प्राकृतिक दृश्यले अनादि कालदेखि ऋषिमुनिहरूको मन हरेको थियो भने अहिले पनि पर्यटक र अन्वेषकहरूलाई यसले उत्तिकै आकर्षित गरिराखेको छ । हाम्रो देशको प्रकृतिले नै हामी नेपालीलाई शान्ति, एकता र मेलमिलापको भावनामा आधारित जीवन पद्धति बिताउने बनाएको छ ।

५) हाम्रो इतिहासमा नयाँ अध्याय बदल्ने सालदेखि हामीले थरीथरीका सरकार गठन गरेर प्रयोग गरी हेर्‍यौँ । त्यसबाट हामीलाई थाहा भयो कि जतिसुकै राम्रो राजनीतिक व्यवस्था पनि राष्ट्रिय परम्परा र संस्कृतिको चुरो नभई देशभित्र हुर्कन सक्दो रहेनछ । नेपाल जहिले पनि स्वाधीन रहिआएको छ । यो कहिल्यै कुनै अर्को मुलुकको उपनिवेश बन्न पुगेन र विदेशी प्रणाली अँगाल्ने अनुभव हामीले बेहोर्नुपरेन । त्यसैले बाहिरबाट भित्र्याइएको प्रणालीलाई तलदेखि माथिसम्म जस्तोको तस्तै पचाउन खोज्दा परिवर्तनको आवश्यकता र शान्ति सुव्यवस्थामा तालमेल बस्न नसक्नु स्वाभाविकै थियो । त्यसको परिणाम स्वरूप देशको व्यक्तित्वमा नै संकट देखापर्‍यो । त्यही संक्रमण अवस्था र भूराजनीतिक बाध्यताले गर्दा हामीले निर्दलीय पञ्चायती प्रणाली अन्तर्गत आफ्नै माटो अनुकूलको र जनमुखी प्रजातान्त्रिक सरकारको व्यवस्था गर्नुपर्‍यो । हाम्रो इतिहासको अनुभवको साथै हाम्रो संस्कृति र भूगोलले पनि यो निर्दलीय व्यवस्थाको विकास गराएको हो । यसै व्यवस्था अन्तर्गत नेपालको सामाजिक तथा राजनीतिक जागरण सुरु भइसकेको छ र सबैले समानै अवसर पाउने जुगमा हामी लम्कन थालेका छौँ ।

६) हाम्रो व्यवस्थामा देशको दैनिक प्रशासनको काम प्रधानमन्त्रीको नेतृत्वमा गठन गरिएको मन्त्रिपरिषदलाई सुम्पिएको छ । हामीकहाँ राष्ट्रिय तहको व्यवस्थापिका सभा छ, जसलाई ‘राष्ट्रिय पञ्चायत’ भनिन्छ र यसमा अधिराज्यका सबै जिल्लाबाट छानिएका जनप्रतिनिधिहरू हुन्छन् हामीकहाँ स्वतन्त्र न्यायालय पनि छ । हाम्रो राजनीतिक व्यवस्थामा जनता कति सरिक रहेछ भन्ने कुरा त स्थानीय काम कारबाहीहरू हेर्ने चार हजार गाउँ पञ्चायतहरू देशभर भएबाट पनि बुझ्न सकिन्छ । राष्ट्रिय तहमा हामीकहाँ एउटा ‘योजना आयोग’ छ जसले ‘राष्ट्रिय विकास परिषद्’सँग मिलेर विकास सम्बन्धी योजनाहरू बनाउँछ र कार्यक्रमहरूको मूल्यांकन गर्छ ।

७) एउटा आधुनिक राजनीतिक तथा प्रशासनिक आधार स्तम्भको सिर्जना गर्न स्वभावतः केही समय लागेको भए पनि देशमा मौलाउँदो आर्थिक व्यवस्था कायम गर्नुका साथै राष्ट्रिय सम्पत्तिको न्यायोचित वितरण र समाजसुधारको आवश्यकता पूरा गर्ने लक्ष्यलाई हामीले छाडेका छैनौँ ।

हाम्रा परमपुज्यबाट देशलाई त्यो नयाँ मुलुकी ऐन बक्स्यो जस अन्तर्गत आज एक एक नेपालीले मानवोचित प्रतिष्ठाका साथ सामाजिक सुधारको फल पाउन लागेका छन् । पञ्चायतमा लागू गरिएको भूमि सुधार योजनाले प्रणाली अन्तर्गत गाउँको विकासमा किसानको भूमिकालाई वास्तविकता दिँदै आएको छ । हाम्रो नयाँ शिक्षा योजनाले जीवनोपयोगी तथा प्रयोगात्मक ज्ञानको चाहना गर्ने विद्यार्थीहरू तयार पार्दछ । यसले विचारलाई कार्यसँग, कल्पनालाई वास्तविकतासँग र व्यक्तिगत सन्तोषलाई राष्ट्रिय उद्देश्य पूर्तिसँग एकाकार बनाउने लक्ष्य राखेको छ । यो नयाँ योजनाले शिक्षक र विद्यार्थीहरू दुवैको स्तर बढाउने र सबै नेपालीको जीवनस्तर बढाउने र सबै नेपालीको जीवनस्तर बढाउने जमर्को गरेको छ ।

८) बितेका २५ वर्षभित्र हामीले इतिहासमै पहिलोपल्ट प्रशस्त सडक र पुलहरू बनायौँ, बढीभन्दा बढी बिजुली उत्पादन गर्‍यौँ र विद्यालयहरू खोल्यौँ तथा कारखाना भवनहरूको निर्माण गर्‍यौँ । हाम्रा साधनहरूको न्यायोचित लगानी गर्न हामीले भौगोलिक आधारमा चार विकास क्षेत्रको स्थापना गर्‍यौँ हामीहरू कृषिमा मात्र आधारित अर्थ व्यवस्थाबाट अलि अलि गरेर भए पनि हाम्रा उद्योगहरू र व्यापार विविधीकरणमा आधारित स्वावलम्बी अर्थ व्यवस्थातिर निःसन्देह अघि बढ्दैछौँ । २०औँ शताब्दीको अन्तिम पाउमा प्रत्येक राष्ट्रको प्रयास आर्थिक विकासतर्फ केन्द्रित भएको छ तर आर्थिक विकासका लागि भएको विश्वव्यापी प्रयासमा हामी भने पछि नै परेका छौँ । त्यही कारणले गर्दा ‘विकास’ हाम्रो लागि सर्वोपरि भएको छ र अरु मुलुकमा हेरी हामीकहाँ यसको प्राथमिक अनिवार्यता देखिएको छ । हामीले विकासको मूल फुटाउनुपरेको छ र त्यसको बढ्दो गतिलाई लगातार धान्दै लैजानुपरेको छ । आवश्यक परेका ठाउँमा अन्तर्राष्ट्रिय सहयोग लिए तापनि मुख्य त हाम्रा आफ्नै साधनहरूको परिचालन गरेर हामीले विकास गर्नुपरेको छ । यी दुवै कार्यको लागि शान्ति वातावरण आवश्यक पर्दछ ।

९) हामी एसियाको एउटा सबभन्दा प्राचीन सभ्यताका हकवाल भएकाले जुगौँदेखि आफूले भोगिआएको हक स्वरूप हाम्रो स्वाधीनतालाई जसरी भए पनि हामीले जोगाउन खोज्नु स्वाभाविक छ । विश्वमा अशान्ति हुँदा हाम्रो परम्परादेखि रहिआएको स्वतन्त्रतामा आँच आउँछ र शान्तिको अभावमा हाम्रो विकासको प्रक्रिया मन्द एवं कठिन हुने मात्र होइन, विकृत पनि हुन्छ । हामी परम्परादेखि नै शान्तिप्रिय भएकाले विश्वका सबै राष्ट्रहरूसँग मिलेर शान्तिको प्रयास गर्न चाहन्छौँ । संसारको कुनै मुलुकको पनि नेपाल कुभलो चिताउँदैन न त कसैसँग अमैत्रीपूर्ण भावना नै उसले लिएको छ भन्ने कुराको म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु । हामी आफ्ना छिमेकीहरूसँग घनिष्ठ एवं समझदारीपूर्ण सम्बन्ध रहेकोमा गौरव मान्छौँ ।

भारतसँग हाम्रो गहिरो एवं विस्तृत सम्बन्ध छ भने चीनसँगको सम्बन्ध पनि उत्तिकै मैत्रीपूर्ण र घनिष्ठ छ । हाम्रा समस्या र आकांक्षाको आपसमा सतत जानकारी रहनु यी सम्बन्धहरूको विशेषता हो ।

१०) असंलग्नताको नीतिलाई हामीले अँगालेको कारण नै विश्वशान्तिको सम्भावना त्यसैमा देखेर हो । हामी आफ्नो सुरक्षाको लागि शान्ति चाहन्छौँ भने, नेपालले आफ्नै दुवै छिमेकी मित्रराष्ट्रसँग शान्ति र मैत्रीको सन्धिमा औपचारिक रूपले पहिले नै हस्ताक्षर गरिसकेको थियो । हाम्रो जनता आफ्नो मुलुकमा, छरछिमेक भारत विश्वमा जताततै हृदयदेखि शान्ति चाहने भएकाले हामीले शान्तिलाई सर्वोपरि स्थान दिएका हौँ । त्यसले शान्तिलाई संस्थागत गर्ने त्यही उत्कट अभिलाषाले प्रेरित भएर म मेरो मुलुक नेपाललाई ‘शान्ति क्षेत्र’ घोषित गरियोस् भन्ने प्रस्ताव राख्दैछु ।

११) शान्ति कायम भएमा मात्र हामीले अरु कुनै मुलुकलाई कुनै अवस्थामा पनि बाधा नपर्ने गरी नेपालमा राजनीतिक स्थिरता र आर्थिक सुदृढता ल्याउन सक्नेछौँ । कुनै अर्को मुलुक वा क्षेत्रबाट धम्क्याइएर अथवा तर्साइएर यो शान्ति क्षेत्रको प्रस्ताव ल्याएको होइन भन्ने पनि म जनाउन चाहन्छु । हामी सदासर्वदा स्वाधीन मुलुकका बासिन्दा रहिआएका हुनाले समझदारीको ठाउँ भ्रमले र मेलमिलापको ठाउँ आपसी लडाइँ झगडाले लिने गरेको वर्तमान समयको हावाले हाम्रो स्वतन्त्रता र स्वाधीनतामा कुनै आँच ल्याउन नपाओस् भन्ने हामी चाहन्छौँ । भविष्यलाई यस परिप्रेक्ष्यमा ध्यानमा राखेर नै हामीले मित्रहरूको सहयोगमा शान्ति खोजेका हौँ ।

१२) विशिष्ट मित्रगण, हामीले नेपालमा के गरिराखेका छौँ र भविष्यमा के के गर्ने मनसाय लिएका छौँ भन्ने कुरा तपाईंहरूलाई यस भेलामा सुनायौँ यी कुरा एक मित्रका कुरा हुन् भनेर बुझिदिनु हुने आशा गर्दछु । तपाईंहरूको नेपाल भ्रमणले हाम्रो मित्रताको गाँठो झन् कस्सिएको छ । तपाईंहरू थोरै दिन नेपाल बस्नुहुँदा पनि हामीले तपाईंहरूलाई पुर्‍याउन खोजेजति सुविधा पुर्‍याउन सकेनौँ भन्ने मलाई लागिराखेको छ । यहाँबाट स्वदेश फर्किनु भएपछि तपाईंहरूले आआफ्ना सरकार र जनता समक्ष नेपालका जनता एवं सरकारका साथै मेरो आफ्नै र आफ्नी श्रीमतीको तर्फबाट शान्ति शुभकामना र अभिवादनको सन्देश पुर्‍याइदिनु हुन सधन्यवाद अनुरोध गर्दछु ।

धन्यवाद ।

(वीरेन्द्रको यो प्रस्ताव हामीले फागुन २०३२ सालमा प्रकाशित हिरण्यलाल श्रेष्ठको पुस्तक ‘श्री ५ वीरेन्द्र र शान्ति क्षेत्र’बाट लिएका हौँ ।)

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार