वरियतामा असन्तुष्टि जनाउँदै मन्त्रालय गएनन् उपप्रधानमन्त्री श्रेष्ठ

२०७९ पुष १४, बिहीबार १९:२५ बजे

काठमाडौं : सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै शपथ लिएका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पुगेर पदभार ग्रहण गरे । त्यसपछि भने उनी फर्किएर मन्त्रालय गएका छैनन् ।

सुरुको दुई दिन सञ्चो नभएको भनेर मन्त्रालय नगएका उनी बिहीबार पनि गएनन् । तर उनले पार्टीका नेताहरुसँग भने निवासमै भेटवार्ता गरिरहेका छन् । त्यसैले श्रेष्ठ मन्त्रालय नजानुको कारण वरियताक्रममा असन्तुष्टि पनि भएको माओवादी केन्द्रका नेताहरु बताउँछन् ।

एक नेताका अनुसार उपप्रधानमन्त्रीहरुमा आफ्नो पहिलो वरियता हुनुपर्ने श्रेष्ठको दाबी छ । हाल मन्त्रिपरिषदको वरियतामा प्रधानमन्त्रीपछिको वरियतामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल रहेका छन् ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ, डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला ०६७ मा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री भएका थिए । एमाले उपाध्यक्ष पौडेल २०७८ मा केपी शर्मा ओली नेतृृत्वको सरकारमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री भएका थिए । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पनि श्रेष्ठ पार्टीको छैटौं र पौडेल नवौं वरियतामा थिए ।

तर अहिले प्रचण्ड सरकारका तीन उपप्रधानमन्त्रीमध्ये पौडेललाई पहिलो वरियतामा राखिएपछि श्रेष्ठ असन्तुष्ट रहेको माओवादी केन्द्र स्रोत बताउँछ ।

स्रोतका अनुसार श्रेष्ठले वरियतामा असन्तुष्टि जनाउँदै सोमबार शपथ लिन नै आनाकानी गरेका थिए । श्रेष्ठको असन्तुष्टि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसम्म पुगेको छ ।

माओवादी केन्द्रका एक नेता भन्छन्, ‘राजनीतिक र राजकीय रुपमा पनि यो मिलेन भन्ने उहाँको कुरा जायज हो छ । अध्यक्षहरुबीच कुराकानी हुँदा पनि मिलाउँला भन्नुभएको छ ।’

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार