
काठमाडौँ : सत्ता गठबन्धनले टिकट बाँडफाँट गर्दा काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये कांग्रेसको भागमा ६ क्षेत्र परेका थिए । काठमाडौं– ५ बाट ०७४ मा प्रतिस्पर्धा गरेका कांग्रेस प्रवक्ता प्रकाशशरण महतले चाहेको भए टिकट लिन सक्थे तर जोखिम लिन चाहेनन् किनकि कांग्रेसकै आकलनमा पनि यो क्षेत्र जित्ने सूचीमा थिएन । त्यसैले पार्टी सभापति शेरबहादुर देउवाका विश्वासपात्र महत आफैंले रोजेर कांग्रेसको समानुपातिकतर्फ खस आर्यको पहिलो नम्बरमा सुरक्षित बसे ।
महतले मैदान खाली गरेपछि अर्थशास्त्री स्वर्णिम वाग्ले र नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महर उक्त क्षेत्रमा चुनाव लड्न तम्सेका थिए तर वाग्लेप्रति बालुवाटार सकारात्मक भएन । प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले महरलाई टिकट दिन चाहेका थिए । तर, रामचन्द्र पौडेल र सिटौलाको पहलमा युवा नेता प्रदीप पौडेलले टिकट पाए, अन्तिम संघारमा । यसमा प्रदीपको भन्दा पनि रामचन्द्र र कृष्ण सिटौलाको चासो धेरै थियो ।
प्रदीप आफैंले गृह जिल्ला तनहुँको क्षेत्र नं. २ बाट टिकट चाहेका थिए । ०७४ मा उनी त्यही क्षेत्रको प्रदेशसभा–१ मा प्रतिस्पर्धी पनि थिए । यस पटक गृह जिल्लाबाटै प्रतिनिधिसभामा लड्न लामो समयदेखि तयारी गरेका उनी नतिजा आफ्नो पक्षमा पार्नेमा विश्वस्त थिए । तर, तनहुँ–१ मा टिकट लिइसकेका रामचन्द्र पौडेलले अर्को क्षेत्रबाट चुनाव लड्दै आएका शंकर भण्डारीलाई टिकट नदिँदा दोष आफूमाथि पर्ने ठाने, भण्डारीले असहयोग गरेमा यसपालि पनि निर्वाचन हार्न सकिनेमा उनी सतर्क थिए ।
त्यस्तै अर्को जोखिम प्रदीपले टिकट नपाए पनि हुने आकलन थियो । भण्डारी र पौडेल दुवैको साथ लिन रामचन्द्र आफैं अघि सरे । उता, आफ्नो समूहमा रहेर साथ दिँदै आएका प्रदीपलाई टिकट दिलाउनै पर्ने अवस्थामा थिए नेता सिटौला । पौडेल र सिटौलाले जोड मिलाएर देउवालाई गलाए र प्रदीपलाई काठमाडौं– ५ बाट उम्मेदवार बनाएका हुन् । मनोनयनको दिन कात्तिक २२ गते मध्याह्न मात्र टिकटको टुंगो लाग्यो । सभापति देउवाले टिकट थमाउँदै प्रदीपलाई भनेका थिए, ‘भाइले टिकट त लिनुभयो तर जितेर आउन धेरै गाह्रो छ ।’
०७४ मा महतको पराजय, ०७९ वैशाखको स्थानीय निर्वाचनमा एमालेले कायम गरेको पकड र एमाले अध्यक्ष केपी ओलीपछि दोस्रो वरीयतामा रहेका वरिष्ठ उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेल प्रतिस्पर्धी रहेकाले देउवालगायत धेरै नेतालाई काठमाडौं– ५ सहज लागेको थिएन । तर, रामचन्द्रको जित सुनिश्चित गर्न र सिटौलाको अस्तित्व स्विकारिदिन प्रदीपलाई तनहुँको सट्टा काठमाडौंको ‘भुङ्ग्रो’ मा पुर्याइएको गुनासो उनकै समर्थक र शुभचिन्तकले गरिरहेका थिए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।