
रौतहट : नेकपा एमालेबाट टुक्रिएर बनेको नेकपा एकिकृत समाजवादी दलले समानुपातिक तर्फ देशैभर कमजोर प्रदर्शन गरेको छ । बुधबार बिहानको मतपरिणामबाट राष्ट्रिय दल बन्न सक्छ कि सक्दैन् भन्ने प्रश्न खडा भइरहेको छ । नेकपा एमाले मत सहित समानुपातिक तर्फ पहिलो दल बनिरहँदा नेकपा एकिकृत समाजवादी भने मत सहित राष्ट्रिय पार्टी बन्न संघर्षरत देखिएको छ ।
गठबन्धनको साहाराले प्रत्यक्ष तर्फ १० सिट जितेको नेकपा एकिकृत समाजवादी समानुपातिक तर्फ भने निकै खुम्चिएको छ । माधव नेपाल अध्यक्ष रहेको सो पार्टीले उनकै गृह जिल्लामा पनि समानुपातिक तर्फ कमजोर प्रदर्शन गरेको छ । समानुपातिक तर्फको सम्पूर्ण मत गणना भइसक्दा उनको पार्टी रौतहटमा तेस्रो स्थानमा रहेको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधि सभाको समानुपातिक तर्फ नेपाली कांग्रेस ६५ हजार ८४५ मत सहित पहिलो , नेकपा एमाले ३८ हजार ३२७ मत सहित दोस्रो स्थानमा रहदाँ नेकपा एकिकृत समाजवादी ३२ हजार ७०० मत ल्याएर तेस्रो स्थानमा रहेको छ । गत बैशाकमा सम्पन्न स्थानिय तहको निर्वाचनमा जिल्लामा ४ वटा पालिका प्रमुख जितेर दोस्रो भएको थियो ।
प्रत्यक्ष निर्वाचन तर्फ भने जिल्लामा नेकपा एकिकृत समाजवादी पार्टीले प्रतिनिधि सभामा एक र प्रदेश सभामा एक सिट जित्न सफल भएको छ ।रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट गठबन्धनका तर्फबाट उम्मेदवार बनेका अध्यक्ष नेपाल ३३ हजार ५५२ मत पाएर विजयी हँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका अजयकुमार गुप्ताले २६ हजार ९२२ मत प्राप्त गरेका थिए ।
यसैगरी प्रदेश सभा तर्फ रौतहट २९२० बाट कनिष पटेल विजयी भएका छन् । विजयी पटेलले १० हजार ४४२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी जसपाका रामकिशोर यादवले १० हजार ३३ मत छन् ।
यसैगरी प्रदेश तर्फ समानुपातिकमा पनि नेकपा एकिकृत समाजवादी तेस्रो भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रदेश सभाको समानुपातिक तर्फ नेपाली कांग्रेस ५५ हजार १८१ मत सहित पहिलो , नेकपा एमाले ३४ हजार ९११ मत सहित दोस्रो स्थानमा रहदाँ नेकपा एकिकृत समाजवादी ३३ हजार ७१७ मत ल्याएर तेस्रो स्थानमा रहेको छ ।
पार्टी विभाजन हुँदा अधिकासं जिल्ला कमिटिमा पदाधिकारी, सदस्यहरु, केन्द्रिय नेताहरु नेकपा एमाले छाडेर नेकपा एकिकृत समाजवादीमा लागेका थिए । त्यसपछि पनि धेरै नेता कार्यकर्ताहरु नेकपा एमाले छाडेर नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका थिए । नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष कमल राय यादव भने यो परिणामलाई आफुहरुले सामान्य रुपमा लिएको बताउँछन् ।
सम्पूर्ण उम्मेदवार, नेता कार्यकर्ताहरु प्रत्यक्ष तर्फका उम्मेदवारहरुलाई जिताउन केन्द्रित हुँदा समानुपातिक तर्फ कम ध्यान दिएकाले कम मत आएको उनको तर्क छ ।
उनले निर्वाचनको दौरान मतदाताहरुलाई समानुपातिक मतको महत्व बुझाउन नसकिएको स्विकार्दै यसको आवश्यक समिक्षा गरेर अगाडि बढ्ने बताए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।