कमल थापाको पार्टीलाई धक्का, समानुपातिकको जम्मा भोट ११ हजार मात्र

२०७९ मंसिर १४, बुधबार १३:५५ बजे

काठमाडौँ : गत वर्ष राजेन्द्र लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा निर्वाचित भएपछि नयाँ पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल खोलेका कमल थापाले यो निर्वाचनमा निराशाजनक प्रदर्शन गरेका छन्। मकवानपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेको साथ लिएर प्रतिनिधिसभामा उठेका उनले राम्रो भोट ल्याए पनि नतिजा आफ्नो पक्षमा पार्न सकेनन्।

उनी मकवानपुर १ मा २५ हजार ४६० मतसहित तेस्रो स्थानमा समेटिए। जहाँ राप्रपाका दीपक बहादुर सिंह २७ हजार ८५१ मतसहित विजयी भए। दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना) ले २५ हजार ४६४ मत ल्याइन्।

एमालेको साथ लिएर संसद पुग्ने योजनामा रहेका थापा यो पटक पनि असफल भए। साथ साथै उनको पार्टीले पनि देशभर निराशाजनक परिणाम ल्याएको छ। थापाबाहेक अन्य स्थानमा राप्रपा नेपालका उम्मेदवारहरुको जमानत जफत नै हुने अवस्था आएको छ।

प्रत्यक्षमा निराशा भोगेको राप्रपा नेपालले समानुपातिकमा त्यो भन्दा पनि कमजोर प्रदर्शन गरेको छ। मंसिर ४ को निर्वाचनपछि जारी मतगणनाका क्रममा राप्रपा नेपालले अहिलेसम्म केबल ११ हजार ६४५ मत मात्रै ल्याएको छ। गणना अन्तिम चरणमा पुग्न लागेकाले थापाको पार्टीले यो मतलाई १२ हजार पुर्‍याउने सम्भावना पनि कम छ।

राप्रपा छाडेपछि नयाँ पार्टीलाई उचाइ दिने घोषणा गरेका थापालाई यो निर्वाचन परिणामले धक्का दिएको छ। समानुपतिकम पनि निराशाजनक प्रदर्शनका कारण हिन्दु राज्यको अभियान चलाएको उनको पार्टी संसदमा देखिने छैन। उता उनले छाडेको राप्रपालाई अध्यक्ष लिङ्देनले प्रत्यक्षतर्फ नै सात सिट जिताएर पुनर्जागरण गराउन सफल भएका छन्।

२०७४ मा लिङ्देन मात्रै संसदमा थिए। तर यस पटक उनीसहित प्रत्यक्षमै सातजनाले जितेका छन्। समानुपतिकमा पनि उसले ५ लाख ७१ हजार १७५ मत ल्याएर कम्तीमा ६ सिट पक्का गरिसकेको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार