चुनाव हारेपछि पुरानै अभिनयमा फर्किन लागेकी हुन् रेखा थापा?

२०७९ पुष १५, शुक्रबार ११:४१ बजे

काठमाडौं : ‘हिरो’ बाट डेब्यू गरेकी अभिनेत्री रेखा थापाले नेपाली सिने क्षेत्रमा झन्डै एक दशक एकछत्र राज गरिन्। अभिनेताहरूको नाममा मात्र फिल्म चल्ने बेला उनले अभिनेत्रीको मुख्य भूमिका रहेको फिल्म पनि चल्न सक्छ भनेर प्रमाणित गरेकी थिइन्।

फिल्म निर्माण र निर्देशनमा समेत हात हालेकी रेखा राजनीतिमा सक्रिय भएसँगै फिल्मबाट टाढिएकी थिइन्। प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएकी रेखाले चुनाव भने जित्न सकिनन्।

चुनावको चटारो सकिएपछि अब उनी फेरि फिल्ममा सक्रिय देखिन थालेकी छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा फिल्म ‘ह्यारीकी प्यारी’ को ‘धरहरा’ बोलको गीत सार्वजनिक गरियो, जसमा रेखाको नृत्य छ। यसमा उनको मुख्य भूमिका भने छैन।

मुख्य भूमिकामा कहिले देख्न पाइन्छ भन्ने प्रश्नमा उनले भनिन्, ‘कोरोना महामारी र चुनावका कारण हाम्रो फिल्म रोकिएको थियो। अब हाम्रो दुइटा प्रोजेक्ट सुरू हुँदैछ। एउटा फिल्मको छायांकन वैशाखबाट सुरू गर्दैछौं। मेरो आत्मा जोडिएको र मलाई चिनाएको फिल्म क्षेत्र नै हो। यसलाई म कुनै हालतमा छाड्दिनँ।

मेरो पहिलो प्राथमिकता फिल्म नै हुन्छ। फिल्म खेलूँ या नखेलूँ तर यो क्षेत्रसँगै जोडिइरहने छु। यही क्षेत्रले मलाई राजनीतिमा जान सजिलो भएको हो। एक्सन–कट भन्न नसके पनि म ९० वर्षसम्म फिल्म निर्माणमा लागिरहन्छु।’

पछिल्लो समय रेखा ‘मलिका’ मा देखिएकी थिइन्। यो फिल्म उनले नै निर्देशन गरेकी हुन्।

उनले दुई वर्षअघि सौगात मल्ल र दयाहाङ राईलाई लिएर फिल्म बनाउने घोषणा गरेकी थिइन्। यसअघि रेनाशा बान्तवा राईको निर्देशनमा बन्ने फिल्ममा पनि काम गर्ने चर्चा थियो।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार