प्रधानमन्त्री दाहाल र ओलीबीच दुई घण्टा वार्ता‚ शक्ति बाँडफाँटबारे छलफल

२०७९ पुष १५, शुक्रबार १२:४७ बजे

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । अध्यक्ष ओली प्रधानमन्त्री दाहाललाई भेट्न शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । दाहाल र ओलीबीच करिब डेढ घण्टासम्म छलफल भएको थियो । दाहालको सचिवालयका अनुसार मन्त्रिपरिषद् विस्तार, सरकारले ल्याउन लागेको न्यूनतम साझा कार्यक्रमलगायत विषयमा छलफल भएको छ ।

दाहालका प्रेस सहयोगी सूर्य किरणले दुई नेताबीच समसामयिक राजनीतिक विषयमाथि छलफल भएको जानकारी दिए । सात दल र तीन स्वतन्त्र सांसदको सहयोगमा प्रधानमन्त्री बनेका दाहालले विश्वासको मत लिएपछि मात्रै थप मन्त्रिमण्डल विस्तार गर्ने रणनीति अपनाएका छन् । दाहाल र ओलीबीच मन्त्रालय बाँडफाँट, प्रदेश सरकारको भागबन्डालगायत विषयमा छलफल भएको छ ।

बिहीबारमात्रै गठबन्धनमा रहेका प्रमुख दलको शीर्ष नेतृत्वले दाहाल नेतृत्वको सरकारलाई प्रभावकारी बनाउन एमाले अध्यक्ष ओलीको नेतृत्वमा गठबन्धनबीच सहकार्य र समन्वयका लागि उच्चस्तरीय संयन्त्र बनाएको थियो भने गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा मस्यौदा समिति गठन गरेको थियो । सो समितिलाई ५ दिनभित्र न्यूनतम साझा कार्यक्रमको ड्राफ्ट तयार गर्नसमेत म्यान्डेट दिएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार