अर्थतन्त्रलाई खराब हालतमा पुर्याएका जनार्दन शर्मा असफल अर्थमन्त्री कि सफल ?

२०७९ पुष १७, आईतवार ०८:२४ बजे

काठमाडौं : २०७८ असार २९ मा जनार्दन शर्माले पहिलो पटक अर्थ मन्त्रीको सपथ लिँदै गर्दा देशले कोभिड त्रासबाट मुक्ति पाउँदै थियो । डेल्टा भाइरसको सक्रमणले मुलुकलाई थला पारेको परिस्थिति मध्येअसारमै मत्थर भइसकेको थियो ।

खोपको ब्यापक उपलब्धता र खोप अभियानमा नागरिकको बृहत्तर सहभागिताले १५ महिनादेखि रोकिएका आर्थिक गतिविधी एकैपटक खुल्न पुगे । यसबाट मुलुकको अर्थतन्त्र ह्वात्तै उचालिने अपेक्षा थियो । तर १७ महिना राज्यको ढुकुटी समेटेर बसेका जनार्दनको प्रगति निरासाजनक रह्यो ।

अर्थमन्त्रीका रुपमा जनार्दन शर्माले सपथ लिँदा देशमा औसत मूल्यबृद्धि साढे ३ प्रतिशत थियो । तर चुनावभन्दा चार दिन अघिसम्मको आँकडाले यो दर ८ प्रतिशत नाघेको देखाएको छ । ०७२ सालको भूकम्पका बेला अचाक्लि महँगी बढेयता पहिलो पटक गत जेठमा मुद्रास्फीतिको दर ८ प्रतिशत नाघेको हो । अर्थात् जनार्दनकै पालामा नागरिकले ७ वर्षयताकै उच्च मूल्यबृद्धि खेप्नु पर्यो ।

२०७८ असारसम्म निजी क्षेत्रमा २६ प्रतिशतभन्दा धेरैले कर्जा विस्तार भएको थियो । तर अहिले बैंकहरु ऋण दिनै नसक्ने हालतमा पुगे । गत कात्तिकसम्म नेपाली बैंक तथा वित्तीय संस्थाले पोहोरको तुलनामा साढे ५ प्रतिशत पनि कर्जा विस्तार हुन सकेन । बैंकको तरलतामा समस्या भएसँगै ब्याजदर पनि उच्च दरमा बढेको छ ।

१६ महिना अघि साढे ८ प्रतिशत रहेको कर्जाको भारित औसत ब्याजदर गत कात्तिकमा साढे १२ प्रतिशत नाघेको छ । निक्षेपको ब्याजदर पनि यही बीचमा साढे ४ प्रतिशत हाराहारीबाट बढेर ८ दशमलव ३२ प्रतिशत पुगेको छ । शर्माको कार्यकालभित्र अर्थतन्त्र ज्यादै महँगो बन्न पुगेको ज्वलन्त उदाहरण हो यो ।

जनार्दन अर्थमन्त्री बन्दा करीब साढे १० महिनाका आयात धान्न पुग्ने गरी देशको ढुकुटीमा ११ अर्ब ७५ करोड डलर विदेशी मुद्रा थियो । तर उनले छाड्ने बखत ९ अर्ब ६३ करोड डलरमा झरेको छ । विदेशी दातृ निकायबाट अनेकौं ऋण र उद्धार कोषको रकम ल्याएर समेत विदेशी मुद्रा बढाउन सकिएको छैन ।

शोधनान्तर स्थित गत वैशाखमा इतिहासकै खराब हालतमा पुगेको थियो । त्यसबेला नेपालको भुक्तानी सन्तुलन २ खर्ब ८८ अर्ब ५० करोड घाटामा गयो । आयात प्रतिबन्धपछि यसमा विस्तारै सुधार भयो र गत असोजदेखि नेपालको पक्षमा फर्किएको छ । जनार्दनले मन्त्रालय सम्हाल्दा नै सवा अर्बमात्रै बचतमा रहेको शोधनान्तर स्थित कात्तिक मसान्तमा २० अर्बले बचत हुन सकेको छ ।

जनार्दनकै पालामा ब्यापार घाटा र चालु खाता घाटा पनि इतिहासकै उच्च भएको थियो । गत आर्थिक वर्ष चालु खाता घाटा कुल गार्हस्थ उत्पादनको १२.८ प्रतिशत पुग्यो । अर्थतन्त्रको अनुपातमा ब्यापार घाटा पनि गत साल इतिहासकै उच्च बन्न पुगेको थियो । गत आर्थिक वर्ष ब्यापार घाटा कुल गार्हस्थ उत्पादनको ३५.५ प्रतिशत पुग्यो । यी दुबै अंक हाम्रो सरकारले तथ्यांक राख्न थालेको २०३१ साल यताकै उच्च हो ।

यसअघि २०५३ सालमा चालु खाता घाटा अर्थतन्त्रको साढे ८ प्रतिशत नाघेको थियो । तर छाड्ने बेलामा यो तथ्यांक पनि सुधार भएको देखिएको छ । शर्मा मन्त्रालय हाजिर हुँदा ३ खर्ब ३३ अर्ब पुगेको चालु खाता घाटा गत कात्तिकमा ३५ अर्ब हाराहारीमा झरेको थियो । शोधनान्तर र चालु खातालाई लिकमा फर्काउन आयात प्रतिबन्ध र ब्याजदर बृद्धिले ठूलो योगदान गरेको छ ।

धेरैको चासो जोडिएको र अर्थतन्त्रको ऐना भनिने सेयर बजारले पनि जनार्दनलाई साथ दिएन । ०७८ असार मसान्तमा २८ सय ८३ अंक पुगेको नेप्से गत कात्तिक अन्तिममा १९ सय ११ अंकमा झरेको थियो । जनार्दनले सरकार छाड्दा नेप्से परिसूचक १८ सय ६७ अंकमा झरेको छ ।

सेयर बजारको आकारमा पनि ब्यापक गिरावट देखिएको छ । १६ महिनाअघि जम्मा २ सय १९ कम्पनीको सेयरको कुल मूल्य ४० खर्ब ११ अर्ब नाघेको थियो । तर कात्तिकसम्म आउँदा नेप्सेमा कम्पनी थपिएर २ सय ४५ पुगे पनि बजार पूँजीकरण २७ खर्ब ४९ अर्बमा झर्यो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार