लतार्दै खोल्सामा लगेर गहना लुटपाट , ढुंगा र हँसियाले हानेर महिलाको हत्या

२०७९ पुष १९, मंगलवार १३:५० बजे

अर्घाखाँची : अर्घाखाँचीको शीतगंगा नगरपालिका-१० सिद्धारा बोखरमा एक ६० वर्षीया महिलाको हत्या भएको छ । आइतबार बिहान स्थानीय राधा थापाको हत्या भएको हो ।

घर नजिकैको खोल्सीमा बिहान करिब १० बजेतिर थापाको शव फेला परेको थियो । टाउकोमा गम्भीर चोट लागेको देखिएकाले थापाको हत्या भएको हो प्रहरीले जनाएको छ ।थापाको घटनाको जानकारी पाउनासाथ उद्धार र अनुसन्धानमा खटिएको प्रहरीले घटना भएको १२ घण्टाभित्रै अभियुक्त पक्राउ गरेको छ । लुकेर भारत जाँदै गरेका भारतीय नागरिकलाई प्रहरीले शीतगंगा-११ को जंगलबाट नियन्त्रणमा लिएको हो ।

६० वर्षीया राधा थापा हरेक दिनजस्तो आइतवार बिहान पनि छिमेकीको घरमा दूध लिन निस्किइन् । घरबाट दूध लिन निस्किएकी थापा छिमेकीको घरमा नपुग्दै अपराधीको निसानामा परिन् । भारतको गुडगाँव घर भई हाल अर्घाखाँची शीतगंगा नगरपालिका-१० स्थित बोखोरकी शिवकला परियारसँग विवाह गरेका सुशान्त सिंहले गहना लुटपाटकै लागि महिलाको हत्या गरेको प्रहरीले जनाएको छ । अघिल्लो दिन साँझ नै चन्द्रौटा डेराबाट ससुराली घरमा आएका सिंहले राति कोही नभएको ससुराली घरमै रात बिताएको र अर्को दिन बिहान साढे ५ बजेदेखि बाटोमा कुरेर करिब ८ बजेको आसपासमा हत्या गरेको स्वीकार गरेका छन् ।

दूध लिन जाँदै गर्दा बाटोमा ढुकेर बसेका सिंहले पछाडिबाट ढुंगा र हँसियाले हानी थापाको हत्या गरेपछि लतार्दै बाटोदेखि करिब १५ मिटर तल जंगलको झाडी खोल्सोमा लगेर उनले लगाएको सुनका गरगहना लुटपाट गरेको प्रहरीलाई बयान दिएका छन् । आरोपी सिंहलाइ जिल्ला अदालतबाट सोमबार सात दिनको म्याद लिएर अर्घाखाँची प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।

थापाको हत्या गरी गहना लुटपाट गरेर जंगलको बाटो भाग्दै गरेका सिंहलाई इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेका सिंहले ससुराली आएको वेलामा थापाले गहना लगाएको देखेको र त्यही गहना लुटपाट गर्ने योजनाका साथ हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्द रिजालले जानकारी दिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार