
ललितपुर : ललितपुर महानगरपालिकाले अव्यवस्थित रुपमा सडकका पोलमा रहेका इन्टरनेटका तार काट्न सुरु गरेको छ । शुक्रबार पुल्चोकको अक्षेश्वर महाविहार क्षेत्रबाट तार हटाउन थिालिएको ललितपुर महानगरका प्रहरी प्रमुख सिताराम हाथेछुले जानकारी दिए । सम्पदा क्षेत्रभित्रका बिजुलीको पोलमा राखिएका प्रयोग नभएको सबै तार काट्न लगाउने अभियान थालिएको हो ।
महानगरको ऐतिहासिक र धार्मिक क्षेत्र कुरुप भएपछि इन्टरनेटको तार हटाउने काम सुरु गरिएको हाथेछुले बताए । यसअघि ललितपुर महानगरले आयोजना गरेको तार व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रममा सरोकारवालालाई प्रयोग नभएको तार हटाउन १० दिनको समय दिइएको थियो ।
उनले भने– ‘दुई दिनअघि भएको इन्टरनेट प्रदायकसहितको बैठकमा सम्पदा क्षेत्रमा १० दिनभित्र तार व्यवस्थापन गर्ने, महानगरले तार काट्ने कुरा भएको थियो । उनीहरुलाई १० दिनभित्र तार व्यवस्थित गर्न सहमति गराएका थियौँ । तार व्यवस्थित गर्नका लागि २० जना नगरप्रहरी पनि खट्ने निर्णय भएको थियो । अब नयाँ तार राख्दा गाडीले नछुने र पोलको माथि व्यवस्थित ढंगले राख्नुपर्ने छ ।’
महानगरको चारवटा अशोक स्तुपा क्षेत्र आसपास, कुम्भेश्वर मन्दिर, पाटन दरबार क्षेत्र, रातो मछिन्द्रनाथको रथ निर्माण गर्ने र रथ तान्ने क्षेत्रका पोलमा रहेका तार हटाउने काम सुरु गरिएको हो । तार काटेपछि नयाँ तार राख्नका लागि इन्टरनेट सेवा प्रदायक कम्पनीलाई नयाँ तार राख्नका लागि नगर प्रहरीले सहयोग समेत गर्ने भएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।