अझै फिर्ता गरेनन् मधेसका पूर्वमुख्यमन्त्री लालबाबु राउतले म्याकबुक, आईफोन र गाडी

२०७९ फाल्गुन १९, शुक्रबार १४:२९ बजे

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारका जिन्सी सामान अझै फिर्ता गरेका छैनन् । मुख्यमन्त्री रहँदा सरकारी सुविधास्वरुप लिएका सामान उनले पदबाट हटेको दुई महिनासम्म पनि फिर्ता नगरेका हुन् । उनले जिओनी कम्पनीको एक थान मोबाइल, एप्पलको मोबाइल एक थान, एप्पल कै म्याकबुक एयर एक थान, डेलको ल्यापटप एक थान र प्रदेश ०२ ००१ झ १९३ नम्बरको स्कारपियो गाडी अझै फिर्ता नगरेको सरकारी स्रोतले जनाएको छ ।

त्यस्तै पूर्वमुख्यमन्त्रीको स्वकीय सचिव दिपक यादवले समेत एक थान मोबाइल फिर्ता नगरेको ती कर्मचारीले जनाए । राउतले आफ्नो कार्यकालमा प्रदेशको गौरवको आयोजनाका रुपमा ‘बेटी पढाउ बेटी बचाउ कार्यक्रम’ संचालन गरेका थिए । अहिले सो कार्यक्रम सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरिसकिएको छ । तर, उक्त कार्यक्रमका संयोजक प्रियंका यादव, सोही कार्यक्रमका लागि कम्प्युटर अपरेटरमा नियुक्त अन्जु यादवले पनि क्वार्टर खाली नगरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

उनीहरुलाई कार्यालयले क्वार्टर खाली गर्न दिएको म्याद सकिए पनि अझै क्वार्टर खाली भएको छैन । मुख्यमन्त्री कार्यालयका एक कर्मचारी भन्छन्, ‘पत्र पठाएका थियौं । तर पत्रमा तोकिएको समयभित्र क्वार्टर खाली नगरेपछि अब नियमानुसार प्रकृया अघि बढाउँछौँ ।’ मुख्यमन्त्री कार्यालयका सचिव नुरहरि खतिवडा भन्छन्, ‘पूर्वमुख्यमन्त्रीको जिम्मामा रहेको सामान फिर्ता गरिदिन पटक पटक जानकारी गराएकै हो । तर अहिलेसम्म फिर्ता भएकोजस्तो लाग्दैन ।’

यस विषयमा मुख्यमन्त्री सरोजकुमार यादवलाई पनि मुख्यमन्त्री कार्यालयका कर्मचारीले जानकारी गराइसकेका छन् । तर, मुख्यमन्त्री यादवले पनि सरकारी सम्पत्ति फिर्ता गराउन अग्रसरता नलिएको कर्मचारीहरुको भनाइ छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार