कांग्रेस सहमतिबाट पछि हट्दैन : गगन थापा

२०७९ फाल्गुन १९, शुक्रबार १६:०३ बजे

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस आठ दलीय गठबन्धनमा भएको सहमति अनुसार नै अघि बढ्ने बताए । राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा आज यहाँ संयुक्त गठबन्धन दलहरुले आयोजना गरेको अभिमुखिकरणमा उनिले गठबन्धनमा भएको सहमतिबाट कांग्रेस दायाँबायाँ नलाग्ने स्पष्ट गरे ।

“आठ दलले पाँच वर्षका लागि गरेको सहमतिबाट कांग्रेस पछि हट्दैन, गठबन्धनलाई विश्वासका साथ अघि बढाउनु आजको आवश्यकता हो”, उहाँले भन्नुभयो । कांग्रेस संविधान कार्यान्वयन र जनतामा परिवर्तनको आभाष दिन प्रतिबद्ध रहेको भन्दै उनिले गठबन्धनलाई पाँच वर्ष काम नगर्ने छुट नभएको बताए ।

महामन्त्री थापाले राष्ट्रपति पदको गरिमा र मर्यादालाई उँचो बनाउनका लागि रामचन्द्र पौडेल सबैभन्दा उपयुक्त पात्र भएको बताउनुभयो । पौडेल गणतन्त्र स्थापना, लोकतन्त्र र संविधानका लागि लडेको निष्ठावान व्यक्ति भएको भन्दै उहाँले राष्ट्रपति पदमा निर्वाचित गर्नुपर्ने बताए ।

उनिले उपराष्ट्रपतिको निर्वाचनपछि मन्त्रिपरिषद् बिस्तारको काम अघि बढ्ने समेत बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पदको लोभ नगरी संविधान र व्यवस्थाको रक्षाका लागि नयाँ गठबन्धनलाई समर्थन गर्नुभएको उनिको भनाइ छ ।

बागमति प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले संविधानको रक्षा गर्दै मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन आठ दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताए ।

उनिले नयाँ गठबन्धनले जनतामा सकारात्मक छाप समेत परेको समेत दाबी गरे । राष्ट्रपति पदका उम्मेदवार पौडेल लोकतान्त्रिक आन्दोलनको अगुवा हुनुका साथै निष्ठावान व्यक्ति भएको तथा सबै हिसाबले योग्य नेता भएकाले उनिलाई निर्वाचित गराउन सबै लाग्नुपर्ने बताए ।

नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँले प्रजातन्त्र, लोकतन्त्रको रक्षाका लागि लड्नुभएका रामचन्द्र पौडेललाई राष्ट्रपति पदमा निर्वाचित गर्नु नै गठबन्धनको मर्म र भावना भएको बताए । 

नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले राष्ट्रपति पदका उम्मेदवार पौडेललाई अहिले दश दलको समर्थन प्राप्त भएको बताए  । “प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनमा सशक्त भूमिका खेल्नुभएका नेता पौडेललाई दश दलको समर्थन छ, उनिलाई निर्वाचित गर्नुको विकल्प छैन ।”

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार