
काठमाडौं : प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले आफूले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा नपाएको बताएकी छन्।
भ्रष्टाचारविरूद्ध सांसदहरूको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो गुनासो गरेकी हुन्।
राज्यको माथिल्लो निकायमा भ्रष्ट आचारण रहेकै कारण आफूलाई सेवा, सुविधा दिने कुरामा पनि विभेद र अन्याय भएको उल्लेख गर्दै उपसभामुख रानाले त्यस्ता खालका गतिविधि सहन गर्न नसकिने समेत बताइन्।
पुरूष उपसभामुख हुँदा पाउने सुविधा अहिले आफूले नपाएको उनको भनाइ थियो।उपसभामुख रानाले आफूलाई निवासको सुविधा दिने कुरामा पनि राज्य गम्भीर नभएको आरोप लगाइन्।
उनले भनिन्,‘सांसद हुँदा त मैले त्यति वास्ता गरिनँ। तर उपसभामुख भएको मेरो अहिले एक महिना भयो। मेरो अधिकार, काम, कर्तव्य खोज्दै गएँ। मेरो सुविधा पनि खोज्दै जाँदाखेरी थुप्रै सुविधाहरू रहेछ। अनि यो भ्रष्ट चाहिँ कस्तो भने पुरूषले महिलालाई गर्ने, ठूलो पार्टीले सानो पार्टीलाई गर्ने, त्यो भ्रष्टाचार होइन र? कस्तो लाग्छ? तपाईंहरूलाई। यहाँ ठूलो जसको पहुँच छ, उसलाई तुरून्त सबैथोक हुने। म अन्याय र विभेद सहन नसक्ने मान्छे म।
म सानो भुइँमान्छे हो। म सांसद मात्रै हुँदा नर्मल ठाउँबाट जान्थें। भिआइपीको सुविधा प्रयोग गर्दिनँ भन्थे। पहिला पुरूष उपसभामुख हुँदाखेरी चाहिँ आर्मी दिन्थ्यो रे। उहाँहरूलाई चाहिँ मन्त्रीसरह सुविधा हुन्थ्यो रे। उपसभामुखलाई घर दिने रे भनिएको छ। दिइएको छैन। ३६ हजार निवास भाडा दिइएको छ। आफू ४४ हजार तिरेर बस्नु परेको छ।’
उपसभामुख रानाले आफू सानो पार्टीबाट आएकाले राज्यबाट पाउने सेवा, सुविधामा विभेद गरेको हुन सक्ने बताइन्।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।