प्रधानमन्त्री प्रचण्डको भारतीय समकक्षी मोदीसँग आज भेटवार्ता हुँदै

२०८० जेष्ठ १८, बिहीबार

काठमाडौँ : भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज बिहीवार भेटवार्ता हुँदैछ ।

औपचारिक भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड बुधवार भारतको नयाँदिल्ली पुगिसकेका छन् । प्रधानमन्त्री प्रचण्डले बिहीवार बिहान महात्मागान्धीकोे समाधिस्थल राजघाट गई पुष्पगुच्छा अर्पण गर्ने कार्यक्रम छ । त्यसलगत्तै भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षीसँग भेटवार्ता गर्ने र लगत्तै प्रतिनिधिमण्डलस्तरमा भेटवार्ता गर्ने कार्यक्रम छ । केही महत्त्वपूर्ण विषयमा सहमति हुने र केही समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । ऊर्जा व्यापार, वाणिज्य, व्यापार तथा आपसीहितका विविध विषयमा छलफल गर्ने गरी कार्यसूची तय भएको छ ।

प्रधानमन्त्री प्रचण्डको सम्मानमा भारतीय प्रधानमन्त्रीले दिवा भोजको आयोजना गरेका छन् । त्यसपछि प्रधानमन्त्री प्रचण्डको भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखरसँग भेटवार्ता गर्ने कार्यक्रम छ । नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले आयोजना गर्ने अन्तक्र्रियालाई बिहीवार नै प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ ।

नयाँदिल्लीस्थित नेपाली दूतावासले प्रधानमन्त्रीको सम्मानमा बुधवार रात्रिभोज सहितको कार्यक्रम गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै उनले आपसी विश्वासको तथा सद्भावना अभिवृद्धि गर्दै नेपाल र नेपालीको हितमा आफ्नो भ्रमण केन्द्रित रहने बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकोे औपचारिक निमन्त्रणामा आफूले भारत भ्रमण गरेको जानकारी दिँदै उनले यस अवसरमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल हुने उल्लेख गरे । नेपाल र भारतबीच सदियौं पुरानो र जनस्तरकोे सम्बन्ध रहेको दोहोर्‍याउँदै प्रधानमन्त्रीले यस भ्रमणपछि २ देशबीचको मैत्री सम्बन्ध थप नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले भारतमा अध्ययन, रोजगारीलगायत अन्य काममा रहेका नेपाली आफैंमा सद्भावना दूत रहेको र नेपालको हितमा केन्द्रित रहेकामा प्रशन्नता व्यक्त गरे । उनले भारतमा सिकेको सीप तथा ज्ञानलाई मुलुकको समृद्धिका लागि खर्चिन समेत आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार