तनहुँमा ठेक्का तोड्ने चेतावनीपछि ठेकेदार सम्पर्कमा

२०८० जेष्ठ १८, बिहीबार

काठमाडौं :  तनहुँको भानु नगरपालिकामा तीन वटा सडक कालोपत्रको ठेक्का पाएका ठेकेदार चेतावनीपछि सम्पर्कमा आएका छन् । सडकको ठेक्का तोड्ने चेतावनीपछि ठेकेदार नगरपालिकाको सम्पर्कमा आएका हुन् ।

नगरपालिकाले काश्यप निर्माण सेवालाई कालोसूचीमा राख्ने र ठेक्का तोड्ने चेतावनी दिएको थियो । उक्त चेतावनीको छ घन्टाभित्रै निर्माण कम्पनीका सञ्चालक माधव घिमिरे नगरपालिकाको सम्पर्कमा आएको प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले जानकारी दिनुभयो । उक्त कम्पनीले नगरपालिकाअन्तर्गतका तीन सडक कालोपत्रको ठेक्का पाएको छ ।

ठेक्का सम्झौता भएर काम नभएपछि बाध्य भएर पत्र काट्नुपरेको पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “ठेक्का लिएर लामो समयसम्म काम नगर्ने, ठेक्का ओगटेर बस्ने प्रवृत्तिका विरुद्ध नगरपालिका कडाइका साथ लाग्छ, सम्झौता योजनालाई समयमै सम्पन्न गराउनेतर्फ नगरपालिका प्रतिबद्ध छ ।”

उक्त निर्माण कम्पनीले नगरपालिकाको गौरवको योजनाका रुपमा रहेको भानु जन्मस्थल मोटरमार्ग, कालीमाटी–मानेचौका–कुञ्छा मोटरमार्ग र रातमाटा–राइपाली–भञ्ज्याङ मोटरमार्गको कालोपत्रको ठेक्का पाएको छ । गत वर्ष नै काम सम्पन्न गर्ने गरी सम्झौता भए पनि लापरवाहीका कारण काम हुन सकेको छैन ।

कम्पनीका सञ्चालक माधव घिमिरेले कम्पनीमा धेरै ठेक्का भएकाले आवश्यक जनशक्तिको अभाव र अन्य व्यवस्थापकीय समस्याले गर्दा काममा ढिलासुस्ती भएको बताउनुभयो । उहाँले आगामी मङ्गलबारबाट काम सुरु गरी चालु असार मसान्तसम्ममा काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नगरपालिकाले उक्त कम्पनीसँग भानु जन्मस्थल मोटरमार्गको रु एक करोड ७७ लाख ४७ हजार नौ सय ७३, कालिमाटी–मानेचौका–कुञ्छा मोटरमार्गको रु एक करोड १७ लाख ५५ हजार दुई सय ५७ र र रातामाटा–राईपाली–भञ्ज्याङ मोटरमार्गको रु एक करोड ८३ लाख १५ हजार तीन सय दुईमा सम्झौता गरेको थियो ।

समयमै काम सम्पन्न गर्नु निर्माण कम्पनीको दायित्व भएको र मौखिकरुपमा पटकपटक अनुरोध गर्दा अटेर गरिएपछि बाध्य भएर पत्र काट्नुपरेको नगर उपप्रमुख उमा गोतामेले बताउनुभयो ।

ठेक्का सम्झौता भएर काम नहुँदा घाम लाग्दो धुलो र पानी पर्दा हिलोले सर्वसाधारण मर्कामा छन् । नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले विकास योजनामा लापरवाही हुन नदिन नगरपालिकाका प्रतिबद्ध रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार