नक्कली भुटानी शरणार्थी प्रकरण : फरार रहेका महर्जन पक्राउ

२०८० जेष्ठ १८, बिहीबार

काठमाडौँ : नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान रचिएको अपराधमा संलग्नमध्येका थप एक जना पक्राउ परेका छन् । भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढेपछि फरार रहेका हरिभक्त महर्जनलाई प्रहरीले बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो ।

शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले राष्ट्रहित प्रतिकूल, संगठित अपराध, ठगी र किर्तेका दफा लगाएर बिगो, कैद र जरिवानाको मागदाबीसहित मुद्दा दायर गरेको थियो । आरोपितविरुद्ध २८ करोड ८१ लाख रुपैयाँ बिगो कायम गरिएको छ ।

मुद्दा चलाइएकामध्ये १६ जना पक्राउ र १४ जना फरार थिए । फरार मध्येका एक लक्ष्मी महर्जन केही दिनअघि पक्राउ परेकी थिइन् । सोही अभियोगमा प्रतिवादी बनाइएका हरिभक्त बिहीबार काठमाडौंबाटै पक्राउ परेका हुन् ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले महर्जनलाई काठमाडौंबाटै पक्राउ गरिएको बताए । ‘उनी प्रहरी अनुसन्धान छलेर फरार थिए, फरार महर्जनलाई बिहीबार पक्राउ गरी अदालतको जिम्मा लगाएका छौं ।’ यो प्रकरणमा फरार अन्य अभियुक्तको पनि खोजीकार्य जारी रहेको एसएसपी कार्कीले बताए ।

काठमाडौं प्रहरीले यो प्रकरणमा संलग्नविरुद्ध राज्य विरुद्धको अपराधसहितका कसुरमा प्रतिवादी बनाएर ३० जना विरुद्ध अनुसन्धान टुंग्याएर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो । त्यसपछि जेठ १० मा सरकारी वकिल कार्यालयले आरोपित ३० जना विरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार