
काठमाडौं : साविक विजेता मछिन्द्र फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिगको उपविजेतामा सीमित भएको दिन दशरथ रंगशालाको मैदान तनावपर्ण देखियो।
हिमालयन शेर्पा क्लबलाई ३-१ गोललेपराजित गर्दै मछिन्द्र एक खेलअगावै उपविजेता बनिरहँदा खेल भने सद्भावपूर्ण देखिएन। खेलाडीहरुले मैदानमै खेल अनुशासन तोडेर घम्साघम्सीमा उत्रिए। खेलमा सुरुदेखि नै विवादका श्रृंखला देखिएका थिए। तर ८३ औं मिनेटमा मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले रातो कार्ड खाँदै मैदान छाडे।
गोलरक्षक विशालले फाकुनलाई फउल गरेपछि रेफ्रीले पहिले पँहेलो कार्ड र दोस्रो पटक रातो कार्ड देखाएका थिए। रेफ्रीले विशाललाई रातो कार्ड दिएको विषयमा दुई टोलीका खेलाडीहरु हात हालाहालै उत्रिए। केहीबेर तनाव भएको खेलमा शेर्पाका निशाल लिम्बुले सिधै रातो कार्ड पाए।
मछिन्द्रले २५ खेलमा ११ मा जित, ९ मा बराबरी र ५ खेलमा हार भोग्दै ४२ अंक बनाएको छ। यसअघि मंगलबार नै नवप्रवेशी चर्च ब्वाइजले लिगको उपाधि जितिसकेको छ।
समान खेलबाट नेपाल पुलिस क्लबले ३८ बनाएको छ। लिगको अन्तिम खेलमा मछिन्द्रले हार भोगेको र पुलिस क्लबले जित निकालेको अवस्थामा पनि अंक तालिकामा पुलिस १ अंकले पछि पर्छ।