धनकुटा : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चार वर्षपछिको चुनाव जित्न सकिँदैन भनेर नडराउन कार्यकर्तासँग आग्रह गरेका छन् । आफूहरू काम गर्ने ठाउँमा रहेको र कुर्सीमा रहेकोले काम गरेर देखाउनुपर्ने उनले बताए ।
कांग्रेस धनकुटाले बिहीवार आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले हल्ला गर्ने (रास्वपा)सँग डराउन नपर्ने बताएका हुन् । ‘चार वर्षपछि चुनाव जित्न सकिँदैन भनेर तर्क गर्ने ? अहिले वडाअध्यक्ष, मेयरको कुर्सीमा बसेकोले भन्न सक्नुपर्छ । यस्तो काम गरेर देखाउछु कि अहिले भन्दा बढीले मत दिनेछन् । मौका पाउँदा पनि काम गर्न सकिँदैन भने, सरकारमा पुगेर के काम गर्ने ?’
केन्द्र, प्रदेशदेखि पालिकासम्म कांग्रेसको सरकार रहेकोले काम गरेर देखाउनु पर्ने उनले बताए । ‘अर्थमन्त्री, शहरी विकास मन्त्री हाम्रै छन्, काम गरेर देखाउन । गर्ने ठाउँमा छौ, हल्ला गर्ने मानिससँग किन डराउने । कामबाट उसको प्रश्नको जवाफ दिनुपर्छ’ थापाले भने । महामन्त्री थापाले सरकारमा टिक्नको लागि कांग्रेसले जे पनि गर्न थाल्यो भन्ने जनताको चासोलाइै सम्बोधन गर्नुपर्ने बताए ।
‘आगामी निर्वाचनमा सबै दल एमाले, माओवादी, घण्टी मिलेर एउटै हुन्छन् भनेपनि नेपाली कांग्रेस चुनाव अगाडि कुनै दलसँग गठबन्धन गर्दैनौ’ थापाले अगाडि भने, ‘सरकार गए जाओस, मञ्चबाट भूईँमा आउनु परे परोस्, विचार, सिद्धान्त र मूल्यमान्यता छाड्नु हँदैन भन्ने हामीले अडान लिनुपर्छ ।’