कतिखेर, कसको पद जान्छ टुङ्गो छैन : मन्त्री मोदी

२०८० जेष्ठ २५, बिहीबार

काठमाडौँ : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय निजामती सेवा ऐन लेखनको काम सकिएको बताएका छन् ।

आज (बिहीबार) मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा मन्त्री मोदीले मन्त्रालयले सरोकारवाला सबै पक्षसँग विभिन्न समयमा छलफल गरी लेखनको काम सकेको जानकारी दिएका हुन् । उनले ऐनलाई अर्थ मन्त्रालय र कानुन मन्त्रालयमा पठाइएको र ती मन्त्रालयबाट सहमति आउन बाँकी रहेको बताए ।

उनले भने, ‘सङ्घीय निजामती सेवा ऐन लेखनको काम सकेर अर्थ मन्त्रालय र कानुन मन्त्रालयमा पठाएका छौँ । कानुन र अर्थको सहमति आउन बाँकी छ ।’ मन्त्री मोदीले तोकिएको क्षेत्रमा नजाने कर्मचारीप्रति कडाइ गर्दै समस्या समाधानमा आफू दत्तचित्त भएर लागेको पनि बताए ।

उनले बेरुजु नियन्त्रणका लागि पालिकालाई मन्त्रालयबाट परिपत्र जारी गरेको तथा आउँदो बजेटमा जनजाति, मधेसी, दलित, पिछडिएका क्षेत्रका जेहेनदार विद्यार्थीलाई लोक सेवा निःशुल्क पढाउने व्यवस्था मिलाएको बताए । मन्त्री मोदीले पालिका प्रमुखहरू विदेश भ्रमणका जाने कुरामा पनि कडाइ गरेको बताए । आफूखुशी विदेश भ्रमणमा जानलाई रोक लगाउँदै परराष्ट्र मन्त्रालयमार्फत सबै प्रक्रिया नपुर्‍याइ जान नदिएको उनले बताए । सरकारी खर्चमा विदेश भ्रमणमा जान नदिएको उनको भनाइ छ ।

उनले सञ्चारमाध्यममा आए जस्तो आफूलाई मन्त्रीबाट फिर्ता बोलाउन लागिएकोबारे जानकारी नभएको बताए । मोदीले कुन बेला कसको पद जाने भन्ने टुंगो नभएको बताएका छन् । मन्त्रिपरिषदमा थारु समुदायको आफू एक्लै रहेको र खराब काम पनि नगरेको भन्दै प्रधानमन्त्रीले आफूलाई फिर्ता नबोलाउनेमा उनको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार