
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचानवादीहरूलाई सरकारले प्रोत्साहित गरेर एमालेमाथि आक्रमण गराइरहेको आरोप लगाएका छन् ।
बिहीवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले पहिचानवादीका नाममा एमालेमाथि देशभर नै हमला गरिरहेको आरोप लगाए । कोशी प्रदेशमा सत्ता संरक्षित आपराधिक घटनाहरू भइरहेको उनले बताए ।
पहिचानवादीका नाममा सत्तापक्ष नै मुठभेडमा लागिपरेकाले अब एमाले प्रतिवादमा उत्रिने उनको चेतावनी थियो । जातिजातिका नाममा दङ्गाफसाद गराउने षडयन्त्रबाट प्रधानमन्त्री पुष्पकमल दाहालबाट देशभर पहिचानको विष फैल्याउने कोशिस भइरहेको ओलीको भनाइ थियो ।
पहिचानवादको संरक्षक पुष्पकमलवादीहरू भएको भन्दै उनले प्रचण्डपथ देशद्रोही र अपराधी पथ भएको जिकिर गरे । ‘अहिले पहिचानवादीका नाममा विभिन्न ठाउँमा हमला भइरहेको छ । पहिचानका नाममा एउटै मानिसहरू बाइक लिएर हरेक ठाउँमा पुग्ने गरेका छन् ।’, ओलीले भने, ‘अहिले प्रदेश नम्बर १ मा सत्ता संरक्षित, आपराधिक घटनाहरू भइरहेका छन्, कहिले बन्द भनेको छ, कहिले तोडफोड, कहिले अनेक छ । प्रचण्डले खोजेको हो, पहिचानको राजनीति ल्याउन, जात जातका राज्य, यो कोशिश गरेको हो ? भड्काउन, बिथोल्न खोजेको हो ? प्रचण्डहरूको यसमा प्रत्यक्ष संलग्नता देखियो, नाम राख्ने, अलिपछि गल्ती भयो भन्ने पुनः विचार गर्नुपर्छ भन्ने र त्यता मान्छे भड्काउने । प्रचण्ड भनेको एक छिनमा पहिचानवादी, एक छिनमा राष्ट्रियतावादी हो । एकछिनमा फाटोवादी, एकछिनमा तमासा ।’
आफ्ना कार्यकर्ताको रक्षा आफैंले गर्नुपर्ने भएकाले अब एमाले प्रतिवादमा उत्रने उनले बताए । ‘सरकारले गुण्डाहरू न नियन्त्रण गर्छ, न समात्छ, प्रोत्साहित गरेको छ प्रचण्ड सरकारले । अब जवाफ दिनुपर्ने बेला आइसकेको छ । पहिचानवादको संरक्षक यो पुष्पकमलवादीहरू प्रचण्डपथ हो । प्रचण्डपथ अझै गएको छैन । यो देशद्रोही र अपराधी पथ हो ।’ ओलीले भने ।