अयोग्य घोषित खेलाडीले जितिन् फ्रेन्च ओपनको उपाधि

२०८० जेष्ठ २६, शुक्रबार

काठमाडौँ : वर्षको दोस्रो ग्रान्डस्लाम प्रतियोगिता फ्रेन्च ओपनको मिक्स डबल्सतर्फको उपाधि जानकी मियु कातो र जर्मनीका टिम पुएट्जको जोडीले जितेको छ । आफूलाई अयोग्य घोषित गरिएको चार दिनपछि नै बिहीबार राति मियोले मिक्स डबल्सको उपाधि चुमेकी हुन् । मिक्स डबल्सतर्फको फाइनलमा मियु र पुएट्जको जोडीले क्यानडाकी बियान्का आन्द्रेस्क्यु र न्युजिल्यान्डका माइकल भेनसको जोडीलाई ४—६, ६—४, १०—६ अंकले हराउँदै उपाधि चुमेको हो ।

‘विगत केही समयदेखि म चर्को मानसिक तनावमा थिएँ । मलाई सामान्य गल्तिका लागि ठूलो कारवाही गरिएको थियो,’ मिक्स डबल्सतर्फको उपाधि जितेपछि मियुले भनिन्, ‘यो उपाधिले मेरो घाउमा मल्हम लगाउने काम गरेको छ ।’

चार दिनअघि फ्रेन्च ओपनमा जापानकी मियु कातो र इन्डोनेसियाकी अल्दिला सुत्जिआदीको जोडीले महिला डबल्सतर्फको खेल खेलेको थियो । उक्त जोडीले तेस्रो चरणको खेलमा स्पेनकी सारा सोरिबेस टोर्मो र चेक गणतन्त्रकी मारी बुज्कोभाको जोडीसँग प्रतिस्पर्धा गरेको थियो । तर, खेलका क्रममा मियुले फालेको टेनिस बल एक ‘बल गर्ल’को टाउकोमा ठोक्किएको थियो । उनले फालेको बलले ‘बल गर्ल’ को टाउको लागेपछि मियु र अल्दिलाको जोडीलाई खेलका लागि आयोजकले अयोग्य घोषित गरेका थिए ।

मियु र अल्दिलाको जोडी डबल्सतर्फ विश्व वरीयताको १६ औं स्थानमा थियो । तेस्रो चरणको पहिलो सेटको खेलमा मियु र अल्दिलाको जोडी आफ्ना प्रतिद्वन्द्वीसँग ७—६ अंकले पछि परेको थियो । दोस्रो सेटको खेलमा भने मियु र अल्दिलाको जोडी ३—१ अंकले अगाडि थियो । त्यसैबेला उक्त अप्रिय घटना भएको थियो । खेलका क्रममा अंक हासिल गरेपछि मियुले टेनिस बल आफ्नो पछाडि फालेकी थिइन् । दूर्भाग्यवस, उक्त बल मियुको पछाडि उभिएकी ‘बल गर्ल’को टाउकोमा ठोक्किएको थियो ।

बलले टाउकोमा चोट लागेपछि ती ‘बल गर्ल’ रुन थालेकी थिइन् । तर, मियुले जानेर ती ‘बल गर्ल’ लाई हिर्काएकी थिइनन् । त्यसपछि अम्पायर एलेक्जेन्डर जुगले ग्रान्डस्लामको नियम उल्लंघन गरेको आरोपमा अन्य रेफ्री, आयोजक र खेलाडीसँग छलफल गरेका थिए । छलफलपछि मियु र अल्दिलाको जोडीलाई खेलका लागि अयोग्य घोषित गरिएको थियो ।

मियु र अल्दिलालाई अयोग्य घोषित गरिएपछि कोर्टमा उपस्थित दर्शक र सञ्चारकर्मीबाट आयोजकको चर्को आलोचना भएको थियो । मियुले जानेर ‘बल गर्ल’लाई हिर्काएकी थिइनन् त्यसैले खेलाडीमाथि यति कडा कारवाही गर्न नहुने उनीहरुको धारणा थियो ।

त्यतिबेला टेनिसको समाचार संकल गरिरहेका सञ्चारकर्मी बेन रोथेनबर्गले पनि कडा कारवाहीले खेलाडीमाथि अन्याय भएको धारणा ब्यक्त गरेका थिए । ‘यो कारबाही कडा हो । बल गर्ललाई जानेर हिर्काइएको थिएन । सर्भिसको पालो पनि विपक्षी खेलाडीको थियो त्यसैले मियुले बल पछाडि फाल्नु स्वभाविकै थियो,’ उनले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार