
भक्तपुर : परराष्ट्रमन्त्री एनपी साउदले हचुवाको भरमा टिप्पणी गर्दा देशको विदेश सम्बन्धमा आँच आउने बताएका छन् । उनले छिमेकी मित्रराष्ट्रको विषयमा हल्का टिप्पणी गर्दा सन्तुलन बिग्रने भएकाले त्यसतर्फ सतर्क हुनुपर्ने बताए ।
सहिद राधेश्याम जोन्छेँ स्मृति प्रतिष्ठानले आज भक्तपुरमा आयोजना गरेको ११औँ वार्षिक स्मृतिसभा तथा छात्रवृत्ति एवं प्रमाणपत्र वितरण कार्यक्रममा उनले दुई देशबीचको सम्बन्ध बिगार्ने गरी बोल्न नहुने बताए । सरकारले कुनै पनि विदेशी नीतिका बारेमा बोल्दा गहन अध्ययन गरेर स्पष्ट भएर मात्रै बोल्नुपर्ने बताउँदै उनले प्रधानमन्त्रीसहितको टोली भारत भ्रमणमा जाँदा हचुवाको भरमा कुनै पनि विषय नबोलेको स्पष्ट पारे ।