
काठमाडौं : महिलाको चरित्र हत्या गरेको आरोपमा साइबर ब्युरोले एक जना महिलालाई पक्राउ गरेको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका-१३ गिजिनडाँडा बस्ने ४२ वर्षीया ज्ञानु थापालाई एक महिलाको चरित्र हत्या गरेको आरोपमा पक्राउ गरिएको ब्युरो प्रवक्ता एसपी पशुपतिकुमार रायले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाको सहयोगमा प्रहरीले उनलाई गत बुधबार पक्राउ गरी काठमाडौं ल्याएको हो। प्रहरीका अनुसार उनीविरूद्ध एक महिला पीडितले जाहेरी दिएकी थिइन्। पीडित महिलाका अनुसार सुरूमा उनलाई एक पुरूषको खाताबाट फ्रेन्ड रिक्वेस्ट आएको थियो। उक्त रिक्वेस्ट आएपछि उनीहरूबीच कुराकानी हुँदै गयो र पछि प्रेम सम्बन्ध पनि गाँसियो।
‘फ्रेन्ड रिक्वेस्ट आएपछि मैले स्वीकार गरेँ र म्यासेन्जरमा कुराकानी गर्न थालेका थियौं। त्यस क्रममा हामीले एकअर्कालाई मनपराउन थाल्यौं। र प्रेम सम्बन्धमा भयौं,’ पीडितले जाहेरीमा भनेकी छन्। त्यसबीच उनीहरूले आफ्ना गोप्य तस्बिर तथा भिडिओहरू समेत साटासाट गरेका थिए। प्रेम सम्बन्धमा बसेको केही समयमा पीडित महिलाले ती प्रेमी पुरूष विवाहित रहेको थाहा पाइन्।
उक्त कुरा थाहा पाएपछि उनले पुरूषसँग सम्बन्ध टुटाएकी थिइन्। सम्बन्ध टुटाएको केही समयपछि एउटा नक्कली आइडीबाट पीडितकी भाउजूलाई मेसेज आएको थियो। जसमा ती पीडित महिलाका गोप्य तस्बिर तथा भिडिओहरू थिए। यसरी आफ्नो चरित्र हत्या गरेको भन्दै पीडितले साइबर ब्युरोमा जाहेरी दिएकी थिइन्। अनुसन्धान गर्ने क्रममा प्रहरीले यस घटनामा ज्ञानु थापाको संलग्नता रहेको पत्ता लागेको थियो। ज्ञानु पीडितका तिनै पूर्वप्रेमीकी श्रीमती हुन्।
‘ज्ञानुले आफ्ना श्रीमान र पीडित महिलाबीच कुराकानी भएको थाहा पाएकी रहेछन्। त्यसपछि पीडितको तस्बिर/भिडिओ आफूले लिएर, फेसबुकमा नक्कली आइडी बनाएर पीडितकी भाउजूको फेसबुकमा ती तस्बिर/भिडिओ पठाएकी रहिछन्,’ प्रहरी स्रोतले भन्यो।
स्रोतले थप्यो, ‘हामी पनि यो घटनामा सुरूमा अलमलिएका थियौं। तर अहिलेसम्म यसमा श्रीमानको संलग्नता भने देखिँदैन।’ ज्ञानु थापाले श्रीमानको सामाजिक सञ्जालमा पहुँच पुर्याएर दुरूपयोग गरेको प्रहरीले जनाएको छ। ज्ञानुलाई प्रहरीले काठमाडौं जिल्ला अदालतबाट सात दिन हिरासतमा राख्ने अनुमति लिएर अनुसन्धान अघि बढाएको छ।