काठमाडौंका हलले थाले भारतीय फिल्मको प्रदर्शन

२०८० असार ८, शुक्रबार

काठमाडौं : अन्ततः शुक्रबारदेखि भारतीय फिल्म काठमाडौंका हलमा फर्किएको छ । भारतीय फिल्मको प्रदर्शनलाई रोक नलगाउन पाटन उच्च अदालतले बिहीवार काठमाडौं महानगरलाई अल्पकालिन अन्तरिम आदेश दिएसँगै हल संचालकले यसअघि प्रदर्शन भैसकेको ‘जरा हट्के जरा बचके’लाई पुनः रिलिज गरेका हुन् ।

अधिकांश हलले विक्की कौशल र सारा अली खान स्टार फिल्मको शो प्रकाशित गरेका छन् । नयाँ फिल्म नभएपछि अदालतको आदेशलाई कार्यान्वयन गर्नको लागि सांकेतिकस्वरुप पुरानै फिल्मलाई पुनः रिलिज गरिएको चलचित्र संघले जनाएको छ । अदालतको आदेशपछि बिहीवार बेलुका बसेको संघको बैठकले भारतीय फिल्मको प्रदर्शनलाई निरन्तरता दिने निर्णय गरेको छ ।

अदालतले सेन्सर पास भैसकेका फिल्मलाई समेत रोक नलगाउने आदेश दिएसँगै ‘आदिपुरुष’को प्रदर्शनको लागि पनि बाटो खुलेको छ । तर, वितरक ब्यांकटेस इन्टरटेनमेन्टले यसबारे कुनै निर्णय नभैसकेको बताएको छ । ‘हामी परिस्थिती कसरी अघि बढ्छ, हेछौं अनि यसबारे निधो गर्नेछौं’ कम्पनीका मनोज राठीले भने ।

चलचित्र संघका प्रदर्शन सभापति प्रज्वल राणाले अदालतको आदेशलाई सम्मान गर्दै भारतीय फिल्मको प्रदर्शनलाई निरन्तरता दिने निर्णय संघको बैठकले गरेको बताए । पाटन उच्च अदालतले आगामी मंगलबार चलचित्र संघ र काठमाडौं महानगर दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

तर, पोखरा महानगरमा भने यो सप्ताहन्त भारतीय फिल्म प्रदर्शन नहुने भएको छ । मिडटाउन सिनेमाज् मल्टिप्लेक्सका प्रमुख निकेश द्धाले यसबारे आगामी आइतबार महानगर प्रमुखसँग छलफल गर्न लागिएको बताए । ‘पोखरामा कसरी अघि बढ्ने भन्नेबारेमा आइतबार मेयरसँग छलफल हुँदैछ । त्यसपछि प्रदर्शनबारे टुंगो लाग्ला’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार