संयुक्त सरकार गठन गर्न पूर्वप्रधानमन्त्री भट्टराईको माग

२०८० असार ८, शुक्रबार

काठमाडौँ : नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले संसद्‌को बाँकी कार्यकालका लागि संयुक्त सरकार निर्माण गर्न आह्वान गरेका छन् । शुक्रबार सामाजिक सञ्जाल ट्विटरमा आफ्नो धारणा राख्दै देशको उतारचढावपूर्ण अवस्था देश र जनताको हितमा नभएको भन्दै संयुक्त सरकारको माग गरेका हुन् ।

उनले संविधान र कानुनमा सुधार गर्न आग्रह गरेका छन् । आमनिर्वाचनयता नेपालको राजनीतिक दिशा र गति झनझन् उतारचढावपूर्ण भएको र त्यो देश तथा जनताका लागि हितकर नभएको बताएका छन् ।

‘गत आमचुनावयताको नेपाली राजनीतिको दिशा र गति झनझन् उतारचढावपूर्ण बन्दै जानु देश र जनताका निम्ति हितकर छैन ! विद्यमान निर्वाचन प्रणालीमा अन्तर्निहित अस्थिरता, दलका प्रमुख नेताहरूको अल्पदृष्टि र असीमित महत्त्वाकांक्षा, भूराजनीतिको निरन्तर दृश्य-अदृश्य दबाब, राज्यका स्थायी अंगहरूको क्षयीकरण/भ्रष्टीकरण आदि यसका प्रमुख कारण हुनसक्छन्,’ उनले लेखेका छन्‚

‘यस्तो अवस्थामा पालैपालो कुर्सी साटासाटमा समय खेर फाल्नुसट्टा यो संसद्‌को कार्यकालसम्म प्रमुख दलहरूको संयुक्त सरकार निर्माण, संविधान र कानुनमा आवश्यक सुधार, शान्तिप्रक्रियाका बाँकी कामको समापन, थप जटिल बन्दै गएको भूराजनीतिको कुशल व्यवस्थापन, जनसरोकारका तात्कालिक मुद्दाहरूको सम्बोधन गर्दा ठीक होला कि ? नत्र समयले कसैलाई नपर्खन सक्छ !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार