बालेनले रोकेको कान्तिपुर हिसान शैक्षिक मेला पुन: सुरु

२०८० असार ८, शुक्रबार

काठमाडौँ : कान्तिपुर हिसान एडुफेयर (शैक्षिक मेला) भृकुटीमण्डप प्रदर्शनी हलमा सुरु भएको छ । एसईई र कक्षा १२ को परीक्षा दिई नतिजा कुरेर बसेका विद्यार्थी र तिनका अभिभावकलाई लक्षित गरी मेला आयोजना गरिएको आयोजकले जनाएको छ ।

असार १० गते आइतबारसम्म सञ्चालन हुने मेलामा ७५ भन्दा बढी शैक्षिक संस्थाको स्टल रहेका छन् । निःशुल्क प्रवेश रहेको मेलामा नेपालको शिक्षा प्रणाली र शिक्षण संस्थाबारे जानकारी प्राप्त गर्न सकिने कान्तिपुर हिसान एडुफेयरका संयोजक टंकराज आचार्यले जनाए । जेठ ३२ गते सुरु भएको मेलामा काठमाडौं महानगरपालिकाले हस्तक्षेप गरेपछि रोकिएको थियो । पाटन उच्च अदालतले मेलामा अवरोध नगर्न अन्तरिम आदेश दिएपछि पुनः मेलालाई निरन्तरता दिएको आयोजकले जनाएको छ ।

मेलामा विद्यार्थी, अभिभावकलाई शैक्षिक परामर्श दिइने संयोजक आचार्यले बताए । कक्षा ११ र स्नातक तह (ब्याचलर) मा भर्नाको तयारीमा रहेका विद्यार्थी, अभिभावकलाई पढ्ने संकाय/विषय, पाठ्यक्रम, शैक्षिक संस्था, भर्ना प्रक्रिया, अनुमानित शुल्क, परीक्षा, मूल्यांकन विधि, छात्रवृत्ति प्रक्रियालगायत विविध जानकारी दिइनेछ । शैक्षिक संस्थाका शिक्षक र पढिरहेका विद्यार्थीसँग छलफल र परामर्श लिन सक्ने व्यवस्था गरिएको छ ।

मेलामा पहिलो पटक काठमाडौं विश्वविद्यालयले सहभागिता जनाएको छ । त्यसबाहेक कक्षा ११ र १२ पठनपाठन गराउने विद्यालयहरू, त्रिभुवन, काठमाडौं, पूर्वाञ्चल, पोखरा, मध्यपश्चिम विश्वविद्यालय र सीटीईभीटीबाट सम्बन्धन प्राप्त शिक्षण संस्था सहभागी छन् । ‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नारासहित कान्तिपुर पब्लिकेसन्स र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) ले संयुक्त आयोजना गरेको आठौं संस्करण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार