नेपाल वायुसेवा निगममा कर्मचारी थप गर्नु नेपाल आमाको रगत खाए सरह हो : योगेश भट्टराई

२०८० असार ८, शुक्रबार

काठमाडौँ : नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगममा नयाँ कर्मचारी भर्ती गर्नु नेपाल आमाको रगत खाएजस्तै भएको टिप्पणी गरेका छन् । शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराईले थला पर्न लागेको नेपाल वायुसेवा निगममा थप कर्मचारी भर्ना गर्नु नेपाल आमाको रगत खाएजस्तै हुने टिप्पणी गरेका हुन् ।

उनले नेपाल वायुसेवा निगमको हालत हिमाल सिमेन्ट कारखानाको जस्तो अवस्थामा पुग्न लागेको पनि बताए । उनले वायुसेवा निगमका कर्मचारीले तलब खाने मुख्य स्रोत नै ग्राउण्ड ह्याण्डिलिङ भएको भन्दै हवाई उडानबाट नाफा नहुने बताए । निगमलाई कति कर्मचारी आवश्यकता हो भन्ने विषयमा मूल्याङ्कन गर्न आवश्यक रहेपनि सरकारको ध्यान त्यतातर्फ नगएको भट्टराईको छ ।

उनले ३ हजार कर्मचारी राखेर ४ वटा जहाज उडान भर्ने निगम आवश्यक नभएको पनि बताए । नेपालका नीजि कम्पनीमा १६ वटा जहाज हुँदा उनीहरुका कर्मचारी ११ सय कर्मचारीले पुगेको भन्दै वायुसेवा निगमसँग ४ वटा जहाज हुँदा ३ हजार कर्मचारी थोपरिएको बताए ।

एमालेले तीन वर्ष सरकार सञ्चालन गर्दा एक जना पनि कर्मचारी नथपेको भन्दै अहिले निगममा सयौँ कर्मचारी भर्ती गरेर निगमलाई सोमलियाकी आमा जस्तो बनाउन थालिएको आरोप लगाए । सांसद भट्टाराईले एमालेको पालामा सर्वसाधारणले समेत शेयर पाउने गरी पब्लिक कम्पनीमा लानुपर्छ भन्ने निष्कर्षमा पुगे पनि निजीकरण ग¥यो भनेर कामै गर्न नदिइएको बताए ।

के भने भट्टराईले ?

नेपाल वायुसेवा निगम हिमाल सिमेन्ट कारखाना जस्तो बन्न पुगेको छ । कारखानाका कर्मचारीहरु अहिले पनि तलब भत्ता माग गर्दै सडकमा हिँडिराख्नुभएको छ । यदि नेपाल वायुसेवा निगमलाई संरचनागत हिसाबले सुधार नगर्ने हो भने यसको हालत त्यही हुन्छ । हाम्रो सरकारको पालामा सर्वसाधारणले समेत शेयर पाउने गरी पब्लिक कम्पनीमा लानुपर्छ भन्ने निष्कर्षमा पुगेका थियो । तर प्रत्येक वर्ष नीति कार्यक्रममा आउँछ । त्यसपछि निजीकरण ग¥यो भनेर काम गर्न दिइँदैन । पब्लिक कम्पनी र निजी कम्पनी पनि फरक हो भनेर नबुझ्नेहरुले यस्तो टिप्पणी गरिरहेका छन् ।

यसलाई सर्वसाधारण समेतलाई शेयर निष्कासन हुने गरी पब्लिक कम्पनीमा लानुपर्छ । त्यसको प्रबन्धपत्र तयार पारेका थियौं । मन्त्रालयमा अहिले पनि छ । निगमको संरचनागत सुधार बाहेक अन्य विकल्प छैन । यदि ग्राउण्ड ह्याण्डिलिङबाट उड्डयन प्राधिकरणले पैसा पाउँछ । भोलि अरु कुनै कम्पनीले त्यो भन्दा बढी दिन्छु । भन्यो भने दिने की नदिने ? वायुसेवा निगमले ग्राउण्ड ह्याण्डिलिङ पाएन भने वायुसेवा निगम थला पर्छ । अर्को कुनै विकल्प छैन । नेपाल वायुसेवा निगमका कर्मचारीले तलब खाने मुख्य स्रोत नै ग्राउण्ड ह्याण्डिलिङ हो । उडानबाट नाफा छैन ।

निगमलाई कति कर्मचारी आवश्यकता हो अध्ययन गर्नुपर्छ । ३ हजार कर्मचारी राखेर ४ वटा जहाज उडान भर्ने हो भने निगम आवश्यक छैन । नेपालका निजी कम्पनीमा १६ वटा जहाज हुँदा उनीहरुका कर्मचारी ११ सय छन् । वायुसेवा निगमसँग ४ वटा जहाज छन् ३ हजार कर्मचारी किन चाहियो ।

एमालेले सरकार चलाएको बेलामा एक जना पनि कर्मचारी थप भएको थिएन । त्यसपछि सयौँ कर्मचारी वायुसेवा निगममा भर्ती गरिँदै छ किन ? त्यसलाई सोमलियाकी आमा जस्तो बनाउने हो ? जुन आमाको दूध आउँदैन । आमाको दूध चुसिराख्ने ? त्यो आमाको रगत चुसे जस्तै हो । नेपाल वायुसेवा निगममा नयाँ कर्मचारी भर्ती गर्नु भनेको नेपाल आमाको रगत खानु जस्तै हो । आज त्यस्तै भइरहेको छ ।

नेपालमा ५५ वटा विमानस्थलहरू छन् । धेरै विमानस्थलहरू चलिरहेका छैनन् । चल्ने सम्भावना पनि छैन । विमानस्थल नयाँ थप्ने की नथप्ने भन्ने ठूलो नीतिगत प्रश्न हो । मेरो कार्यकालमा तीनवटा आधार बनाएको थिए । विमानस्थलमा व्यवसायीक प्रतिफल हुनुपर्छ । किनकि हिजो सडक पूर्वाधार थिएन । धेरै विमानस्थलहरू बनाउनु पर्ने आवश्यकता थियो । अहिले यातायातका अन्य पूर्वाधारहरू उपलब्ध छन् ।

विमानस्थलमा व्यवसायिक प्रतिफल महत्त्वपूर्ण कुरा हो । किनकि विमानस्थल बनाउन अबौं खर्च हुन्छ । दोस्रो पर्यटकीय गन्तव्य लुक्ला,सिमिकोट जस्ता ठाउँहरु अन्यत्र पनि छन् भने सरकारले विना संकोच विमानस्थल बनाउनु पर्छ । त्यसले पर्यटकीय हिसाबले माथि लैजान्छ । आवश्यकताको आधारमा जनतालाई सेवा दिनको लागि बनाउनु पर्छ । सरकारको नीति तथा कार्यक्रम र बजेटमा फेरि पनि नचाहिने ठाउँमा विमानस्थलहरू थपिँदै छन् । जुन ठाउँमा ४५ मिनेटको दूरीमा अन्तर्राष्ट्रिय विमानस्थल छ । त्यहाँ विमानस्थल आवश्यक छैन ।

फेरि पनि अनावश्यक रुपमा खर्च गरेर विमानस्थल बनाउनु पर्ने आवश्यकता देखिँदैन । पर्यटकको हिसाबले ताप्लेजुङको सुकेटार,संखुवासभाको तुम्लिङटार,लुक्ला सोलुखुम्बु,सिमीकोट हुम्ला र ताल्चा मुगु विमानस्थल पर्यटकीय हिसाबले महत्त्वपूर्ण छन् । यी विमानस्थलको सकेसम्म सरकारले स्तर उन्नति गर्ने काम गर्नुपर्छ । भरतपुर विमानस्थल जोखिमपूर्ण छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले वार्षिक ८५ लाख यात्रुहरुलाई सेवा दिइरहेको छ ।

यो विमानस्थलको क्षमता अधिकतम ९० लाख हो । अर्को विमानस्थल चाहिन्छ । पोखरा,भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ भनेका छन् । त्यता सिपm्ट गरे हुन्छ । तर भैरहवा र पोखराले आफैँ उत्पादन गर्ने हो । यी दुवै पर्यटकीय गन्तव्य ठाउँमा भएका विमानस्थलहरू हुन् । ती विमानस्थल बनाएर गल्ती भएको जस्तो लाग्दैन । यी विमानस्थल चलाउनुपर्छ । काठमाडौँको विमानस्थलमा अर्को वर्ष ९० लाख पुग्छ ।

अहिले अन्तर्राष्ट्रिय उडान ९० वटा जति छ । अर्को वर्ष ११० वा ११५ अन्तर्राष्ट्रिय उडान हुने बित्तिकै काठमाडौँ विमानस्थल साँघुरो हुन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प भनेको निजगढ बाहेक अन्य हुन सक्दैन । निजगढ विमानस्थल सरकारले बनाउनै पर्छ । अर्को विकल्प छ जस्तो लाग्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार