
काठमाडौँ : हिजो आइतबार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । प्रहरीले दिएको जानकारी अनुसार ओखलढुङगाको चिसंखुगढी गाउँपालिका–३ दियालेस्थित सडकमा ना.१ ज ८४८३ नम्बरको गाडी अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेर आइतबार दुर्घटना हुँदा जिपमा सवार २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा चिशंखुगढी गाउँपालिका–३ बस्ने ५२ वर्षीय मिनबहादुर श्रेष्ठ र सोही ठाउँस्थित खानिभन्जयाङ बस्ने ७० वर्षीय भक्तबहादुर थापा रहेका छन् । दुर्घटनामा घाइते भएका अन्य १२ जनामध्ये १० जनालाई हेलिकोपटरद्वारा उपचारको लागि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं ल्याइएको छ । थप २ जनालाई मिसन अस्पताल ओखलढुङगा पठाइएको छ ।
त्यस्तै, मोरङको विराटनगर महागनगरपालिका–४ ईक्राई पोखरी चोकस्थित सडकमा को.३ त ८ नम्बरको ट्याक्टरको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने २८ वर्षीया राधादेवी राजबंशीको आइतबार मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरील खोजी गरिरहेको जनाएको छ ।
यसैबीच रौतहटको बौधिमाई नगरपालिका –५ कोप्वा मौलापुर सडकखण्डमा प्रदेश.२–०३०–१५ प ८५०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार यमुनामाई गाउँपालिका–४ सरूअठा बस्ने ५० वर्षीय देवनारायण साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।